क्यानको नयाँ नेतृत्वले पहिलोपटक घरेलु प्रतियोगिता गर्दै, प्रधानमन्त्री कप क्रिकेट ११ पुसदेखि
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ११ पुसदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ। पुरुषको प्रतियोगिता काठमाडौंस्थित टीयू क्रिकेट मैदानमा र महिलाको दाङमा हुनेछ।
पुरुषको टीम छनौट गर्न क्यानले जिल्ला क्रिकेट संघहरुलाई पत्राचार गरिसकेको छ। सबै जिल्लाले २१ मंसीरभित्र टीम छनौट गरेर प्रादेशिक क्रिकेट संघ र केन्द्रलाई जानकारी दिन भनिएको छ। प्रदेशहरुले ७ पुससम्ममा प्रतियोगिता सकिसक्नुपर्नेछ। त्यसपछि प्रदेशका टीम घोषणा हुनेछन्।
प्रतियोगितामा प्रदेशका सात र तीन विभागीय गरी १० टीमले भाग लिनेछन्। अहिले क्रिकेट संघ गठन भएका ३९ जिल्लामा खेलाडी छनौटको तयारी शुरु भएको छ।
कोरोनाभाइरस महामारीले नौ महीना ठप्प रहेको क्रिकेट गतिविधि बल्ल शुरु हुन थालेको छ। यसअघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण गएको ११ मंसीरमा शुरु गरेको छ। प्रशिक्षणका लागि क्यानले २७ खेलाडीलाई बोलाएको छ।
क्यानको नयाँ नेतृत्व आएदेखि कुनै पनि घरेलु प्रतियोगिता भएको छैन। अन्तरष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले झन्डै साढे तीन वर्ष प्रतिबन्ध लगाएपछि गएको ११ असोजमा क्यानको निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दको टोलीलाई आईसीसीले २७ असोजदेखि काम गर्ने अनुमति दिएको थियो।
त्यसलगत्तै क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) गर्ने घोषणा गरेको थियो। तर, कोरोनाभाइरस महामारी शुरु भएपछि उक्त प्रतियोगिता हुनसकेको छैन।