च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित, नकआउट चरणको संभावना कठिन
च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बी’ को खेलमा रियल मड्रिडलाई शाख्तर डोनेत्स्कले २-० गोलले पराजित भएको छ। हारपछि नकआउट चरणमा पुग्ने टुङ्गो अन्तिम खेलबाट मात्र लाग्ने भएको छ।
यक्रेनियन फूटबल क्लब शाख्तरले घरेलु मैदानमा ५७औँ मिनेटमा डेन्टिन्होको गोलबाट अग्रता लिएको थियो। ८२औँ मिनेटमा मानोर सोलोमोनले अग्रता दोब्बर बनाए। त्यसपछि कुनै गोल नहुँदा शाख्तर विजयी भयो।
हारपछि रियलको पाँच खेलबाट सात अंक छ। शाख्तरको पनि उति नै खेलबाट सात अंक नै छ। शाख्तर दोस्रो र रियल तेस्रो स्थानमा छन्। पहिलो स्थानमा भएको बोरुसिया मोएनचेन्ग्लाडबाखको आठ र अन्तिम स्थानको इन्टर मिलानको पाँच अंक छ। इन्टरले हिजोको खेलमा बोरुसियालाई ३-२ गोलले पराजित गरेको छ।
अरु खेलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिखले १-१ गोलको बराबरी खेले। यो समूहबाट बायर्न नकआउट चरणमा प्रवेश गरिसकेको छ। उट्लेटिको दोस्रो स्थानमा छ।
त्यस्तै एफसी पोर्टो र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेले। उता लिभरपुलले अजाक्सलाई १-० गोलले पराजित गरेको छ। लिभरपुलका लागि कुर्टिस जोन्सले घरेलु मैदानमा ५८औँ मिनेटमा एक मात्र गोल गरे। यो समूहबाट लिभरपुल नकआउट चरणमा पुगिसकेको छ।