इलाममा हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन, अस्पतालको सिफारिस चाहिने
इलाममा कोरोनाभाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि हप्ताको दुई दिन मात्रै स्वाब संकलन र परीक्षण गरिने भएको छ।
परीक्षणका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिन मात्रै स्वाब सङ्कलन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार इलाम नगरपालिका–७ मा रहेको आइसोलेसन भवनमा अब सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ। कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउन लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ।
दैनिक २० जनाको हाराहारीमा संक्रमित बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड ठीक नभएको स्थानीय बताउँछन्। तर, जिल्लामा प्रयोगशाला नहुँदा जिल्लाबाहिर थोरै संख्यामा मात्र परीक्षण हुने कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले बताए।
उनी भन्छन्, “जिल्लाबाहिर थोरै मात्र परीक्षण हुन्छ। तर, सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ।” जिल्लामा तिहारपछाडि संक्रमण बढ्न थालेको छ। तिहारपछि अहिलेसम्म आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन्।
अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो। विशेषगरी बजार क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई मास्क प्रयोग गर्न अनिवार्य नगराउनु तथा सवारीसाधनमा दूरी कायम नगरी यात्रु राख्नाले कोरोना उच्च दरमा बढेको छ।
जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ। एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ। १६८ जना कोरोनामुक्त भएका छन्।