फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन
जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ।
यदि युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ। दुबै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (इएमए) मा औपचारिक निवेदन दिइएको उल्लेख छ।
गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए। कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिइरहेको छ।
युरोपेली नियामक निकायले फाइजरले पेश गरेको विवरणको मूल्याँकन गरी खोप लगाउन उपयुक्त रहे नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ।
फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान समेतका मुलुकहरुका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ।