पोखराको शान्तिवन क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउन लागिएको भन्दै स्थानीयद्वारा विरोध
पोखरा महानगरपालिका वडा नं. १० शान्तिवन क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन्। महानगरपालिकाले २०५५ सालमा क्षेत्राधिकार समेत नाघी गैरकानूनी रूपमा उक्त वन बौद्ध अर्घो सदन र रामघाट दाहसंस्कार समितिका नाममा बाँडफाँड गरिदिएपछि स्थानीयले विरोध गरेका हुन्।
संघीय सरकारले विद्युतीय शवदाह गृह निर्माणका लागि बजेट विनियोजन गरेपछि स्थानीयले विरोध गरेका हुन्।
गत वर्ष माघमा शवदाह गृहको निर्माण गर्न बौद्ध अर्घो सदन, पोखरा महानगरपालिका र संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो। उक्त शवदाह गृह करीब ३० करोडको लागतमा निर्माण हुन लागेको छ। विद्युतीय शवदाह गृहको विरोध गरेको नभई त्यस ठाउँमा शवदाह निर्माण गर्न नहुने विषयको विरोध भएको शान्तिवन सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सम्झना अधिकारीले बताए।
शवदाह गृहको विकल्प हुँदाहुँदै वन फडानी गरेर निर्माण गर्न लागिएपछि उच्च अदालत पोखरामा परेको मुद्दा विचाराधीन अवस्थामा छ। वातावरण प्रभाव मूल्याङ्कनको कुरामा स्पष्ट नभइकन भौतिक संरचनाहरु निर्माण हुँदा प्रतिकूल असर पर्न सक्ने भूगोलविद् कृष्ण केसीले बताए।
शान्तिवनको साबिकका कित्ताहरु २२०६ र २२०७ हुन्। २०६३ सालमा नयाँ नापी भएको थियो । तर अहिले एघार रोपनीभन्दा बढी क्षेत्रफल भएको वनको पुर्जाको स्रेस्ता मालपोतबाट हराएको छ।