वागमती र प्रदेश-२ मा कोरोना संक्रमण समुदायस्तरमा, उपत्यकामा घटेन संक्रमणको जोखिम
स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले कोरोना संक्रमण फैलिएका ठाउँमा गरेको सर्भेले प्रदेश–२ र वागमती प्रदेशमा कोरोना संक्रमणको फैलावट समुदायस्तरमा पुगेको देखाएको छ।
हिमालखबरसँग कुरा गर्दै इडीसीडीका निर्देशक तथा सर्भेको नेतृत्व गरेका डा. वासुदेव पाण्डेले संक्रमित व्यक्तिको एन्टीबडी मापन गर्दा प्रदेश–२ र वागमतीमा कोरोना संक्रमणको फैलावट समुदायस्तरसम्म पुगेको पाइएको बताए।
अध्ययनकर्ताहरूको टोलीले सातै वटा प्रदेशबाट ३ हजार १५० जना व्यक्तिको रगतको नमूना लिएर एन्टीबडी मापन गरेका थिए। यसरी एन्टीबडी मापन गर्ने कामलाई सेरोलोजी परीक्षण भनिन्छ।
संक्रमणको तत्कालीन अवस्था र समुदायमा कोरोना संक्रमण कुन स्तरमा फैलिएको छ भनेर थाहा पाउन सेरोलोजी परीक्षण गरिएको डा. पाण्डेले बताए।
सर्भे गर्ने टोलीका सदस्य रामकुमार महतोले अहिलेसम्म कति व्यक्ति संक्रमित भए, आउने दिनमा संक्रमणको जोखिम कति रहन्छ भनेर थाहा पाउनका लागि सेरोलोजी जाँच गरिएको बताए।
“कम उमेरका व्यक्तिमा कम संख्यामा संक्रमण देखिन्छ भन्ने मान्यता रहे पनि यो सर्भेले सबै उमेर समूहका धेरै व्यक्ति संक्रमित रहेको पाइयो”, उनले भने।
डा. पाण्डेका अनुसार वागमती र प्रदेश-२ बाहेकका अन्य प्रदेशमा समुदायस्तरमा संक्रमण नफैलिए पनि कलस्टर केसहरू रहेको पाइएको छ।
यो सर्भे दशैँअघि दुई हप्ताको समय लगाएर गरिएको थियो। सर्भेमा ईडीसीडीका निर्देशक डा. पाण्डेसहित ६ जनाको टोली सहभागी थियो।
ईडीसीडीले सर्भेको उक्त रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइसकेको छ। तर, मन्त्रालयले भने अहिलेसम्म उक्त रिपोर्ट सार्वजनिक गरेको छैन।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले सर्भेमा थप काम गर्नुपर्ने देखिएपछि आफूहरूले उक्त रिपोर्ट ईडीसीडीमा फिर्ता पठाएको र त्यहाँबाट आएपछि सार्वजनिक गर्ने बताए।
उपत्यकामा जोखिम उस्तै
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले १४ मंसीरमा जारी गरेको नयाँ नक्शा अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो रहेको देखाएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित नयाँ बजार, सोह्रखुट्टे, चामती, डल्लु, क्षेत्रपाटी, लाजिम्पाट, कुलेश्वर, डिल्लीबजारलगायतका क्षेत्रमा छन्।
सीसीएमसीका अनुसार मैतीदेवी, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, लगनखेल, कमलविनायक, इमाडोल, नक्खिपोट, बुद्धनगरलगायतका क्षेत्रमा पनि उच्च संख्यामा कोरोना संक्रमित रहेकाले ती क्षेत्रलाई जोखिम भनिएको छ।
सीसीएमसीले जारी गरेको विज्ञप्ति अनुसार नक्शालाई आधार मानेर बढी जोखिम देखिएका ठाउँमा कट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन सकिन्छ।