स्थायी कमिटी बैठक सर्दैनः नेकपा प्रवक्ता
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले १८ मंसीरका लागि तय भएको पार्टीको स्थायी कमिटी बैठक नसर्ने बताएका छन्।
बुधबार पनि सचिवालय बैठक बस्ने भएपछि बिहीबारका लागि तय स्थायी कमिटी बैठक बस्छ/बस्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले पूर्वनिर्धारित बैठक नसर्ने बताएका हुन्।
“१८ गते स्थायी कमिटीको बैठक पूर्वनिर्धारित छ। यसलाई बदल्ने कुनै निर्णय भएको छैन”, प्रवक्ता श्रेष्ठले भने।
पार्टीको एकताको रक्षा र पार्टीमा देखा परेको समस्याको कारण पहिल्याउँदै समाधाको दिशातिर जानेगरी छलफल अघि बढाउने प्रयत्न रहेको उनले बताए।
उनका अनुसार मंगलबार बालुवाटारमा बसेको सचिवलाय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल शुरू भएको छ।
“अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव र अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल शुरूआत भएको छ”, प्रवक्ता श्रेष्ठले भने, “छलफल सकिएको छैन। बैठक भोलिक एक बजे फेरि बस्नेछ।”
यसबीचमा नेताहरूबीच अनौपचारिक छलफल, अन्तर्क्रिया र सम्वाद जारी रहने पनि उनले बताए। आजको बैठकमा अध्यक्ष ओली र दाहालले आफ्ना धारणा राखेका थिए। अरु नेताले पनि सामान्य टिप्पणी गरेको र बाँकी छलफल भोलिको बैठकमा हुने उनले बताए।
“छलफल प्रारम्भ भएको छ। त्यसमा कमरेड प्रचण्ड र कमरेड केपी शर्मा ओलीले मुलतः आफ्नो धारणाहरू राख्नुभएको छ। अरु कमरेडहरूले पनि सामान्य टिप्पणी गर्नुभएको छ। पार्टीको समस्या र समाधानका विषयमा केन्द्रित भएर गम्भीर छलफल हुन बाँकी छ”, बैठकपछि प्रवक्ता श्रेष्ठले बालुवाटारमा सञ्चारकर्मीहरूसँग भने।
उनले राजतन्त्रका पक्षमा गरिएको आन्दोलनको कुनै अर्थ नरहेकाे पनि टिप्पणी गरे। “प्रतिगामी शक्तिहरूले फेरि नेपालमा सफलता प्राप्त गर्ने नसोचे हुन्छ”, प्रवक्ता श्रेष्ठले भने, “केही कमि कमजोरी भएका छन् भने त्यसको समीक्षा गरेर हामी अगाडि बढ्छौं तर, जनताबाट विस्थापित शक्तिले फेरि पुनर्स्थापित हुने कुनै सोंच नबनाए हुन्छ।”