भोलि फेरि बस्ने गरी सकियो नेकपाको सचिवालय बैठक
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। बैठक भोलि दिउँसो १ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल शुरू भएको छ।
“अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव र अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल शुरूआत भएको छ” प्रवक्ता श्रेष्ठले भने, “छलफल सकिएको छैन। बैठक भोलि एक बजे फेरि बस्नेछ।”
यसबीचमा नेताहरूबीच अनौपचारिक छलफल पनि अघि बढाउनुपर्छ भन्ने बैठकले उपयुक्त ठानेको उनले बताए। जसअनुसार नेताहरूबीच अनौपचारिक छलफल, अन्तरक्रिया र संवाद जारी रहने प्रवक्ता श्रेष्ठले बताए।
झण्डै साढे ४ घण्टा चलेको बैठकमा अध्यक्ष ओली र दाहालले आफ्ना धारणा राखेका थिए। अरु नेताले पनि सामान्य टिप्पणी गरेको र बाँकी छलफल भोलिको बैठकमा हुने उनले बताए।
“छलफल प्रारम्भ भएको छ। त्यसमा कमरेड प्रचण्ड र कमरेड केपी शर्मा ओलीले मूलतः आफ्नो धारणाहरू राख्नुभएको छ। अरु कमरेडहरूले पनि सामान्य टिप्पणी गर्नुभएको छ। पार्टीको समस्या र समाधानका विषयमा केन्द्रित भएर गम्भीर छलफल हुन बाँकी छ”, बैठकपछि प्रवक्ता श्रेष्ठले बालुवाटारमा सञ्चारकर्मीहरूसँग भने।