मुगुको सोरु गाउँपालिकाभित्रका विद्यालयमा पठनपाठन शुरू
मुगुको सोरु गाउँपालिकाले सोमबारदेखि सबै विद्यालयहरूमा पठनपाठन शुरू गरेको छ। कोरोना महामारीका कारण करीब ९ महीना बन्द रहेका सामुदायिक तथा निजी विद्यालयहरू सोमबारदेखि सञ्चालनमा आएका हुन्।
१२ मंसीरमा बसेको गाउँ कार्यपालिकाको बैठकले लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालयमा पठनपाठन शुरू गरिएको सोरु गाउँपालिकाका शिक्षा प्रमुख निर्मल देवकोटाले बताए।
पालिकाअन्तर्गत रहेका ४७ विद्यालयमध्ये ८ माध्यामिक विद्यालय, ६ निमावि र ३३ प्राविहरूमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापडण्ड अपनाउँदै सोमबारदेखि पठपाठन शुरू गरिएको उनको भनाइ छ।
विद्यालयमा मास्क, स्यानिटाइजर अनिवार्य र हरेक विद्यालयले विद्यालयमै अनिवार्य रूपमा हेल्थडेक्सको समेत स्थापना गरेर विद्यालय सञ्चालन गरिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ मुगुका प्रमुख सूर्य खत्रीले बताए।
कुनै विद्यालयको विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमणका कुनै लक्षण देखिनासाथ सम्बन्धित पालिकाले तत्काल पालिकाभित्रका विद्यालयमा पठनपाठन रोक्ने उनको भनाइ छ।
उनका अनुसार अर्को साताको आइतबारसम्ममा जिल्लाका ४ वटै स्थानीय तहका सम्पूर्ण विद्यालयमा पठनपाठन शुरू गरिसक्ने सहमति भएको छ।
सोमबारदेखि सञ्चालनमा आएका सोरु गाउँपाकिकाका सबै विद्यालयहरूमा पहिलो दिन विद्यार्थीको उपस्थिति न्यून हुन रहेको थियो। ४५९ जना विद्यार्थी रहेको जनज्योती माध्यामिक विद्यालय नार्थपुमा पहिलो दिन ८५ जना र दोस्रो दिन आज १३५ जनाको उपस्थिति रहेको विद्यालयका लेखापाल नरजङ्ग शाहीले बताए।
सञ्चारको अभाव, भौगोलिक विकटता र लामो समयसम्मको बन्दाबन्दीका कारण शुरूका दिनमा विद्यार्थीको उपस्थिति न्यून भएतापनि अबको केही दिनमा सबै विद्यार्थीको उपस्थिति हुने उनको विश्वास छ। सम्पूर्ण विद्यार्थीलाई विद्यालय सञ्चालन हुनेबारे जानकारी गराइसकिएको छ।
यस्तै, छायाँनाथ रारा नगरपालिकाले १८ मंसीरदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। कार्मारोङ गाउँपालिकाको १७ मंसीरमा कार्यपालिकाको बैठक बस्दै छ। खत्याड गाउँपालिकाले पनि केही विद्यालयमा पठनपाठन शुरू गरिसकेको छ भने यो साताको शुक्रबारसम्म सबै विद्यालयमा पठनपाठन शुरू गर्ने भएको छ।