भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण मंगलबार ‘ब्रेक थ्रु’ भएको छ ।
टनेल बोरिङ मेशिन (टीबीएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टीबीएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो ।
विसं २०७४ कात्तिक मसान्तदेखि टीबीएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।
मंगलबार नै सुर्खेत आएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।
‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए ।