चितवनमा मृत भेटियो गैँडा, चालू आर्थिक वर्षमा १७ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको छ। सो गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ।
उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिए। गैँडाको खाग खुर सुरक्षित छ।
यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ। यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलेसमेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ