पाइलटकै लापरबाहीले हुन्छ पाराग्लाइडिङ दुर्घटना
कोरोनाभाइरस महामारीका बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको पाराग्लाइडिङका लागि पोखरास्थित सराङकोटको डाँडोमा भीड लाग्ने गरेको छ। यस्तो अवस्थामा ८ मंसीरमा भएको पाराग्लाइडिङ दुर्घटनाले आकाशमा उड्न चाहनेहरुलाई त्रसित बनाएको छ।
पोखराको आकाशमा पाराग्लाइडिङ उड्न थालेको दुई दशक (१९९९) नाघिसकेको छ। यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। यसअघि सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलटहरु दुर्घटनामा पर्ने गरेका थिए। तर, यसपालि भने अनुभवी टेन्डम पाइलटको नै ज्यान गयो। दुर्घटनामा परेका पारा पाइलट राजु गैरे नेपाली (३८) अनुभवी पाइलट भएका उनका सहकर्मीहरु बताउँछन्।
विगत आठ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट माधव तिवारी पाइलटले आफ्नो अनुशासन र उडानका नियम बाहिर जाँदा दुर्घटना हुने बताउँछन्। उनी भन्छन्, “सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिलेकाहीं मौसमको खराबी हुन सक्छ, नत्र उडान सुरक्षित नै हुन्छ। उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन्। ओभर कन्फिडेन्स भएर नियम विपरीतका गतिविधि नै दुर्घटनाका कारण हुन्।”
उनका अनुसार उडान समयमा फूल पात टिपेर यात्रुलाई दिने गर्दा दुर्घटना निम्तिन सक्छ। दुर्घटना रोक्न पारा पाइलट नै संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
अर्का अनुभवी पाइलट दुर्योधन खड्काले साहसिक खेलमा जोखिम मोल्नुपर्छ भन्ने मानसिकताले पनि कतिपय अवस्था नियन्त्रण बाहिर जाने गरेको बताउँछन्। “कोही कोही यात्रुले अलि बढी जोखिम मोल्न रुचाउने र पाइलटलाई अलि प्रेसर दिने गर्छन्। यात्रुको सबै अवस्थालाई स्वीकार्नुपर्छ भन्ने हुँदैन, पाइलटले पनि जोखिमको अवस्थालाई आकलन गर्न सक्नुपर्छ।”
कहिलेकाहीं टेकअफ गर्दा यात्रु नियन्त्रणमा नहुने गर्दा पनि दुर्घटना हुन सक्ने बताउँछन्। तर, हावामा उडिसकेपछि सामान्य अवस्थामा दुर्घटना हुने सम्भावना न्यून हुने उनको अनुभव छ।
हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि उडानमा समयमा फूल, पात टिप्ने र पानी छुने जस्ता गतिविधिले दुर्घटना हुने गरेको सुन्नमा आएकाले अब यस्ता गतिविधिमा रोक लगाइने बताउँछन्। राजु गैरे दुर्घटनामा परेको विषयमा छानबिन समिति गठन भएको उनी बताउँछन्।
नेपाल नागरिक उङ्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। प्राधिकरणका पोखरास्थित प्रबन्धक (एअर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा पारा पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो। समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ।
अहिलेसम्म पाराग्लाइडिङ उडान अनुमति लिएका ३३८ पारापाइलट छन्, जसमा १२ महिला छन्। बन्दाबन्दी अगाडि विदेशी पाइलट भए पनि अहिले नेपाली मात्रै छन्। पोखरामा ६० पाराग्लाइडिङ कम्पनी छन् भने रु.१ अर्ब बढीको लगानी छ।