स्थानीय तहमार्फत कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोना परीक्षण घट्यो, ६ सरकारी प्रयोगशालाबाट शून्य परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ मंसिरमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा ९९११ जनाको कोरोना परीक्षण भयो। यीमध्ये १४७४ जनाको कोरोना परीक्षण पोजिटिभ देखिएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्लो २४ घण्टामा मृतकको संख्या उच्च रहेको देखाएको छ। सोमबारको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण २९ जनाको ज्यान गएको छ। तर, प्रयोगशालामार्फत कोरोना परीक्षण भने न्यून संख्यामा भइरहेको छ।
पछिल्लो २४ घण्टामा मुलुकका पाँच सरकारी प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण हुन सकेन। बर्दिबास कोभिड–१९ प्रयोगशाला, भेरी अस्पताल नेपालगञ्ज, गुल्मी कोभिड–१९ प्रयोगशाला, डोटी अस्पताल, बैतडी अस्पताल प्रयोगशाला र बझाङ अस्पताल प्रयोगशाला गरी पाँच सरकारी प्रयोगशालामार्फत कोरोना परीक्षण नभएको देखिएको छ।
यसबाहेक निजी स्तरबाट सञ्चालित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, कुष्ठरोग मिसन नेपाल आनन्दवन अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल प्रयोशाला, मनमोहन मेमोरियल सिक्षण अस्पताल र बागेश्वरी डायग्नोष्टिक एण्ड पोलीटेक्नीक सेन्टर प्रालीबाट पनि पछिल्लो २४ घण्टामा कारोना परीक्षण हुन सकेन।
यसरी ६ सरकारी र पाँच निजी गरी ११ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा स्वाब परीक्षणको काम हुन सकेन। कोरोना परीक्षण गरेका सरकारी प्रयोगशालाहरूले न्यून संख्यामा परीक्षण गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ।
मुलुकमा पहिलो पटक कोरोना परीक्षण शुरु गरेको सरकारी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो २४ घण्टामा २५७ जनाको कोरोना परीक्षण गरेको छ। यो त्यही प्रयोगशालाले हो, जसले दैनिक करिब दुई हजार जनासम्मको कोरोना परीक्षण गरेको थियो।
प्रयोगशालासँग कोरोना परिक्षण गर्ने पाँच वटा रियल टाइम पीसीआर मेसिन छन्, जसमध्ये अहिले जम्मा तीन वटा मेसिन मात्र सञ्चालनमा छन्।
यति ठुलो क्षमता भएको प्रयोशालामा कोरोना परीक्षण गर्ने क्रम किन स्वात्तै घट्यो त ? प्रयोगशालाका सूचना अधिकारी तथा मेडिकल टेक्नोलोजीष्ट राजेस कुमार गुप्ता स्वाब कम आएकाले परीक्षण पनि कम भएको बताउँछन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत निःशुल्क कोरोना परीक्षण हुँदै आइरहेको छ। “स्थानिय तहले कन्ट्याक्ट ट्रेसिङको काम कम गर्दै लगेका कारण स्वाब पनि कम आएको हो”, गुप्ता भन्छन्, “कन्ट्याक्ट ट्रेसिङ गर्ने काम स्थानिय तहकै जिम्मेवारीमा पर्छ।” तर, उनी स्थानिय तहमार्फत कट्याक्ट ट्रेसिङ कम भइरहे पनि कोरोनाको जोखिम भने यथावत नै रहेको बताउँछन्।
के मुलुकमा कन्ट्याक्ट ट्रेसिङको काम बढाउनै नपर्ने गरिको अवस्था निम्तिएको हो त ? त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको माइक्रोबायोलोजी विभागका उप–प्राध्यापक डा. रञ्जित साह अहिले कोरोनाको जोखिम यथावत् रहेकाले कन्ट्याक्ट ट्रेसिङ र परीक्षण घटाउनु पर्ने अवस्था बनि नसकेको बताउँछन्। “सरकारले परीक्षण पनि घटाउँदै लगेका कारण संक्रमितको संख्या कम देखिएको हो”, डा. साह भन्छन्।