भारतसँगको हवाई उडान खुलाउने जिम्मा उड्डयन प्राधिकरणलाई, वायुसेवाबाट उडान तालिका मागिंदै
सरकारले १० मंसिरमै कोरोना महामारी शुरु हुनुअगाडि नेपालमा नियमित उडान गरिरहेका वायुसेवाको उडान खुलाउने निर्णय गरिसकेको छ। यो निर्णयबाट छिमेकी मुलुक भारतमा पनि उडान खुल्ने अपेक्षा छ। तर, भारतले १६ पुससम्मलाई अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाले त्यसअघि भारतमा नियमित उडान हुनसक्ने देखिंदैन।
सरकारले सबै विदेशी मुलुकका लागि नेपालमा उडान खुलाउने निर्णय गरेसँगै हाल उडान प्रतिबन्ध खुलाउन बाँकी रहेका भारत र बंगलादेशलाई अनुमति दिने तयारी गरेको छ। मन्त्रिपरिषदले नेपालमा कोरोना महामारी शुरु हुनुअगाडि नियमित उडान गरेका तर हाल बन्द रहेका देशका वायुसेवालाई पुनः हवाई सेवा शुरु गर्न दिने स्वीकृति १० मंसीर २०७७ काे निर्णयबाट दिएकाे छ। मन्त्रिपरिषदले यो निर्णय कार्यान्वयन गर्ने जिम्मा भने पर्यटन मन्त्रालयलाई दिएको छ।
पर्यटन मन्त्रालयले नै उडान खुला गर्ने अनुमति मागेकाेले आवश्यक उडान व्यवस्था पनि त्यहींबाट गराउनुपर्ने निर्णय भएकाे छ।
मन्त्रिपरिषद्ले पाँच दिन अगाडि गरेको निर्णय १५ मंसिर (सोमबार)मात्रै पर्यटन मन्त्रालय पुगेको छ। मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार उडान नखुलेका मुलुकमा फेरि शुरु गर्ने/गराउने काम पर्यटन मन्त्रालयले गर्ने गरी निर्णय आएको छ। यो निर्णय अनुसार पर्यटन मन्त्रालयले आवश्यक प्रक्रिया र प्राविधिक काम गरेर अब भारत र बंगलादेशको खुलाउने निर्णय भएको भट्टराईले बताए।
मन्त्रालयले कोभिडपछि हालसम्म उडान खुल्न बाँकी रहेका मुलुकको उडान पुनः शुरु गर्ने विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा दिनेछ। प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाउन र उडान खोल्न बाँकी रहेको मुलुकमा पुनः हवाई सेवा सुरु गराउने पनि पर्यटन मन्त्रालयका प्रवक्ता भट्टराईले बताए।
नेपाल र भारतबीचको हवाई आवागमन नखुल्दा समस्या भएको छ। नेपालबाट व्यापार गर्न, औषधि उपाचार गर्न, तेस्रो मुलुक जान तथा अन्य प्रयोजनको लागि भारत उपयुक्त गन्तव्य हो भने भारतबाट पनि नेपालमा आउने पर्यटकदेखि दैनिक गतिविधिका लागि बाक्लो आवतजावत हुने गरेको छ। भारतमा उडान खुला नहुँदा नेपाली वायुसेवालाई अन्तर्राष्ट्रिय उडानमा यात्रु अभाव भएको छ। त्यसमध्ये भारत गन्तव्य उडान धेरै हुने क्षेत्रमा पनि परेको छ।
नेपाल वायुसेवा निगम (नेवानि)को मात्रै भारतमा दैनिक दुईवटा गरी सातामा १४ उडान हुन्थ्याे भने कोभिड अगाडिसम्म भारतबाट पाँचवटा वायुसेवाले काठमाडौं दिल्ली नियमित उडान गर्थे। कोभिड महामारी सुरु भए पनि ११ चैतबाट नेपालले नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेर १६ भदौदेखि खुला गरेको थियो।
नेपालले हाल विदेशी वायुसेवाको रूपमा संयुक्त अरब इमिरेट्स (युएई), चीन, हङकङ, कुवेत, मलेसिया, कतार, ओमान, सिंगापुर, थाइल्याण्ड र टर्कीबाट आउने १६ वायुसेवालाई उडानको अनुमति दिएको छ। नेपाली वायुुसेवा हिमालय र नेपाल एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।
नेपालमा कोभिड अगाडि उडान हुने भारत र बंगलादेशको वायुसेवाको उडान भने अझै खुलेको छैन्। नेपाल सरकारले भारतको लागि नेपालमा उडान खुला गर्ने निर्णय गरेपनि भारतमा भने कोरोना संक्रमण फैलदै गएका कारण १६ पुस २०७७ सम्मको लागि उडान प्रतिबन्ध लगाएको छ।
नेपालमा कोभिड अगाडि उडान हुने भारत र बंगलादेशका वायुसेवाको उडान भने अझै खुलेको छैन। नेपाल सरकारले भारतको लागि नेपालमा उडान खुला गर्ने निर्णय गरे पनि भारतमा भने कोरोना संक्रमण फैलदै गएका कारण १६ पुस २०७७ सम्मको लागि उडान प्रतिबन्ध लगाइएको छ।
उडान मिति सम्बन्धित वायुसेवाले उडान तालिकापछि मात्रै
भारतले यसअघि दुई महीना अगाडि नै नेपाली वायुसेवालाई उडान खुला गर्न दिने इच्छा गर्दा नेपालले कोरोना जोखिम बढेको भन्दै भारतको प्रस्ताव स्वीकार गरेकाे थिएन। साेही कारण अहिले नेपालले चाहे पनि भारतले स्वीकृती नदिएसम्म नेपाल-भारतबीच नियमित उडान हुन सकेको थिएन। भारतले यस अघि एयर बबल स्किमका लागि नेपालसँग उडान खुला गर्न प्रस्ताव गरेको पर्यटन मन्त्रालयकै अधिकारी बताउँछन्।
पटक-पटकको प्रस्तावलाई कोरोना जोखिमका कारण स्वीकार गर्न नसकिएको भएपनि अब भने स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर, आर्थिक क्षेत्र पुनरुत्थान गर्न र दैनिक गतिविधि चलाउन पनि उडान सञ्चलन गर्नैपर्ने निष्कर्षमा पुगिएको मन्त्रालयका ती अधिकारी बताउँछन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने सरकारले निर्णय गरिसकेको र तालुक निकाय पर्यटन मन्त्रालयको पत्र आएपछि प्रक्रिया अगाडि बढाउने बताए। प्राधिकरणले भारत उडान गर्ने र भारतबाट आउने वायुसेवाको उडान तालिका माग गर्ने छ। सो तालिकालाई पुनः पर्यटन मन्त्रालयबाट स्वीकृत गराएर औपचारिक रूपमा नियमित उडानको अनुमति दिने भएकाले आवश्यक प्रक्रियामा जानुपर्ने प्राधिकरणका प्रवक्ता क्षेत्री बताउँछन्।
नेपालले भारतीय वायुसेवाको प्रस्ताव आएपछि कति उडान गर्न दिने, नेपाली वायुसेवालाई कतिवटा उडानको अनुमति दिने भन्ने विषय सम्बन्धित वायुुसेवाले गर्ने उडान तालिकाको प्रस्तावपछि मात्रै भन्न सकिन्छ।
नेपालले भारतीय वायुसेवाको प्रस्ताव आएपछि कति उडान गर्न दिने, नेपाली वायुसेवालाई कतिवटा उडानको अनुमति दिने भन्ने विषय सम्बन्धित वायुुसेवाले गर्ने उडान तालिकाको प्रस्तावपछि मात्रै भन्न सकिने क्षेत्री बताउँछन्।
वायुसेवाको प्रस्तावलाई सरकारले दिने स्वीकृति आवश्यक पर्छ। नेपालले आफ्नो आवश्यकता र क्षमता अनुसार विदेशी वायुसेवालाई उडान अनुमति दिने भएकोले पनि अव प्रस्ताव आएपछि त्यसलाई स्वीकृति गरेर उडान सुरुको मिति तय हुन सक्ने प्राधिकरणको भनाइ छ।
श्रीको चार्टर्ड उडान स्थगित
निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एअरलाइन्सले १६ मंसीरका लागि तय गरेको चार्टर्ड उडान स्थगित गरेको छ। श्रीले उडान अनुमतिको लागि प्रक्रिया पूरा नभएको कारण उडान हुन नसकेकोले अर्काे साता गर्ने जानकारी दिएको छ।
श्री एअरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर भारतमा १४ र १५ गते (आइतबार र सोमबार) विदा परेकोले उडान अनुमति पाउन नसकिएको बताउँछन्। उनले भने, ‘‘चार्टर्ड उडान गर्न नसकिएपछि यसका यात्रुलाई खबर गरेर एक सातापछि मात्रै चार्टर्ड उडान हुने जानकारी दिइसकिएको छ।’’
नियमित तालिकामा हुने उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत आवश्यक प्रक्रिया पुर्याउनुपर्ने र अनुमति लिनुपर्ने भए पनि चार्टर्ड उडानको लागि सम्बन्धित वायुसेवा आफैंले प्रयास गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ।
श्री एअरलाइन्स नेपालबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्ने वायुसेवा कम्पनी हो। यो वायुसेवाले नियमित उडानको अनुमति भने पाएको छैन। नियमित अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्रयास गरिरहेको यो वायुसेवालाई सरकारले अन्तर्राष्ट्रियमा चार्टर्ड मात्रै गर्ने गरी अनुमति दिएको छ।