प्रकाशशरण महत भन्छन्- सत्ता संघर्ष व्यवस्थापन गर्न संसद बन्द राखियो
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन्।
महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाए। नेपाल सांस्कृतिक संघका पदाधिकारीहरूसँगको अन्तरक्रियामा महतले पाँच महीना लामो बन्दाबन्दी र निषेधाज्ञा खुलेपनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए।
उनले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत बताए। प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरूका आवाज सरकारसम्म पुर्याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाएपनि सरकारले आफ्नो कुरा सहज रुपमा नसुनेको उनको आरोप छ। संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए।
कांग्रेसको कोभिड—१९ अनुगमन समितिका संयोजक समेत रहेका महतसँग सांस्कृतिक संघका पदाधिकारीहरूले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन्।