धरानका पहिलो उपसभापति श्रेष्ठको निधनमा शोक विदा
धरान उपमहानगरपालिकाका पहिलो निर्वाचित उपसभापति एवं बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ (बीए)को निधनमा शोक विदा दिइएको छ। आइतबार ८७ वर्षीय श्रेष्ठको निधन भएपछि सोमबार विदा दिइएको हो।
सोमबार अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयहरू बन्द गरिएका थिए। श्रेष्ठको सोमबार नै अन्तिम संस्कार गरिएको छ।
श्रेष्ठ धरानबाट स्नातक तह (बीए) उतीर्ण गर्ने पहिलो २ जना व्यक्तिमा पर्छन्। उनलाई बीए कृष्णका नामले समेत चिन्ने गरिन्छ। उनीसँगै धरानका यज्ञप्रसाद आचार्यले बीए पास परेका थिए। कृष्णप्रसाद नाम गरेका व्यक्ति धेरै भएकाले श्रेष्ठलाई बीए कृष्ण भनेर चिन्ने गरिएको थियो।
श्रेष्ठसँगै बीए पास गरेका यज्ञप्रसाद आचार्यको पनि यही वर्ष ६ असोजमा निधन भएको थियो। आचार्यले पञ्चायत प्रवेश गरी नेपाल युवक संघको सभापति लगायत विभिन्न पद सम्हालेका थिए।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट नै राजनीति शुरू गरेका श्रेष्ठ भने पछि कृष्णराज वर्मा समूहमा लागेका थिए। राजनीतिसँगै समाज सेवा र साहित्यमा पनि योगदान दिएका श्रेष्ठ धरानको पहिलो कम्युनिष्टका रूपमा समेत परिचित थिए।