कलाकार दशैंराम चमारको शव शंकास्पद अवस्थामा फेला
रौतहटमा एक कलाकारको शंकास्पद मृत्यु भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका ५ मिठुअबा का ४५ वर्षीय दशैंराम चमारको माधवनारायण ४ मानपुर र ५ मिठुअबा गाउँको बिचको बाँसघारीमा सोमवार शव फेला परेको हो।
स्थानीयले बेवारिसे अवस्थामा एक अधबैंसे पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको देखिएको प्रहरीको भनाइ छ। कुटपिट वा अन्य कारणले मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।
रामको मृत्यु शंकास्पद रहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने एसपि शाहको भनाइ छ। रामको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पुर्याइएको छ।
नाचगानको पेसामा रहने मृतक राम कलाकार भएको बुझिएको छ। नाच कार्यक्रमहरूमा व्यावसायिक लबन्डा (केटीको भूमिका खेल्ने) कलाकार भएको स्थानीयको भनाइ छ।
रौतहटमा छुट्टाछुट्टै दुर्घटनामा दुई बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु
यसैबिच ना ३ ख ५७२२ नम्बरको ट्रकको ठक्करले चन्द्रपुर ८ की ६८ वर्षीया देवकीदेवी आचार्यको मृत्यु भएको छ। ट्रक चालक गणेश पटेललाई ट्रकसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।
यसै गरी माधवनारायण नगरपालिका १ दीपहीमा सञ्जय महतो कहारका १४ महिनाका छोरा नवीन महतोको घरनजिकै नालाको पानीमा डुबेर मृत्यु भएको छ। यसै गरी गरुडा नगरपालिका २ गेडहीका नवीनकुमार यादवकी करिब एक वर्षकी छोरी कान्साकुमारी यादवको पनि घरनजिकै कलधाराको जमेको पानीमा डुबेर सोमवार नै मृत्यु भएको प्रहरीले जनाएको छ।