‘कांग्रेसलाई बचाउन राम्रो नेतृत्वको खाँचो छ, म सभापतिमा उठ्छु'
नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म हुने तय गरिएको छ। तर, महाधिवेशनको तयारी अगाडि नबढ्दा निर्धारित समयमा हुने निश्चित छैन। पार्टी नेतृत्वले महाधिवेशनको तयारी नगरेर सार्न खोजेको सभापति शेरबहादुर देउवा इतरका पक्षको आरोप छ। महाधिवेशनको घोषणापछि विभिन्न नेताले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिरहेका छन्। महाधिवेशनको सन्दर्भमा कांग्रेस नेता एवम् केन्द्रीय सदस्य सुजाता कोइरालासँग हिमालखबरका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानी:
महाधिवेशनको तयारी कसरी भइरहेको छ ?
व्यक्तिगत रुपमा त उम्मेदवारी दिने तयारी भइरहेको देखिन्छ। तर, महाधिवेशनको लागि पार्टीको तयारी कमजोर देखियो। सभापतिको सोच महाधिवेशन नगर्ने खालको देखिंदैछ। कमजोर तयारीकै कारण महाधिवेशन सार्नुपर्ने स्थिति छ। कोरोना संक्रमण महामारीका कारण महाधिवेशन गर्न नसक्ने अवस्था होइन। समयमा महाधिवेशन गराएन भने पार्टी झन् कमजोर हुन्छ। त्यसैले सकेसम्म तोकिएको समयमा नभए पनि बढीमा तीन महीना सारेर महाधिवेशन गर्नैपर्छ। अमेरिका र भारतमा हाम्रोमा भन्दा महामारीको डरलाग्दो अवस्था हुँदाहुँदै निर्वाचन भयो, हामीले पार्टीको महाधिवेशन गर्न नसक्ने कुरै छैन। सजिलो विधि र कम खर्चिलो हुने गरी कसरी गर्न सकिन्छ भन्ने तयारी गर्नुपर्छ।
सहज रुपमा र कम खर्चमा महाधिवेशन कसरी गर्न सकिएला त ?
महाधिवेशन प्रतिनिधिहरुलाई विभिन्न ठाउँबाट काठमाडौं आउनुपर्ने सास्ती नदिई तथा खर्च नगराई प्रदेशहरूमै चुनाव गराउनुपर्छ। सभापतिको लागि पनि त्यहीं मतदान गराएर सबै ठाउँको भोट जोडेर घोषणा गर्दा भइहाल्छ। महाधिवेशन प्रतिनिधिले विभिन्न दुर्गम भेगदेखि कैयौं दिन गाडी चढेर काठमाडौं आउन कति कठिन छ। आजको भोलि नै महाधिवेशन नसकिने भएकाले होटल वा गेस्टहाउसमा आफ्नै खर्चमा बस्नुपर्छ। यो महामारीले झन् मान्छेलाई गरीब बनाइरहेको छ। गाई, भैंसी, बाख्रा, कुखुरा बेचेर महाधिवेशनमा आउनुपर्ने हुन्छ। यो हाम्रो पार्टीको मात्रै कुरा होइन, अरु पार्टीले पनि यही विधि अपनाउनुपर्छ।
सभापतिको उम्मेदवार बन्ने तयारीमा जुटिसकेको छु। जिल्ला सभापतिदेखि विभिन्न नेता–कार्यकर्तासँग भेटघाट, छलफल र जूम मीटिङमा व्यस्त छु। यी भेटघाट र छलफलमा मैले उम्मेदवारीको कुरा गर्दा धेरै जना खुशी र उत्साहित हुनुहुन्छ।
अर्को कुरा, कोरोना संक्रमण जोखिमका कारण देशभरिका मान्छे एक ठाउँमा जमघट गर्ने अवस्था छैन। भीडभाडका कारण ट्राफिक जामले अरु मानिसलाई समस्या हुन्छ। महाधिवेशन स्थल आसपास फोहोर हुन्छ। त्यसैले पार्टीलाई आर्थिक र व्यवस्थापकीय बोझ कम हुने भएकाले सम्बन्धित प्रदेशमै मतदानको व्यवस्था मिलाउनु उचित हुन्छ।
यसबारे पार्टीमा छलफल हुन थालेको छ ?
क्रियाशील सदस्यताको विवाद टुंगेर अब महाधिवेशन कसरी गर्ने भन्ने तहमा पुगेपछि म आफैं यो प्रस्ताव पार्टीमा राख्छु। यो कुरा मैले हरेक भर्चुअल संवाद र पार्टीका नेता–कार्यकर्तासँगको छलफलमा भनिरहेको छु। सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। महाधिवेशन गर्ने यो विकल्पबारे सबै प्रदेशले छलफल र तयारी गर्नुपर्छ।
क्रियाशील सदस्यताबारे किन सधैं विवाद हुन्छ ?
आफूलाई भोट हाल्छ भनेर आ–आफ्ना मान्छेलाई क्रियाशील सदस्यता दिंदा विवाद निम्तिने गरेको हो। एउटा परिवारका सबैलाई सदस्यता बाँडिन्छ। यो प्रवृत्तिले त पार्टी सकिंदै जान्छ। पार्टी अनुशासनमा रहनुपर्छ। देशभरि हरेक घरमा एक जनालाई क्रियाशील सदस्यता दिनुपर्छ। अझ म त भन्छु, एक घरमा दुई वटा क्रियाशील सदस्यता दिने गरी तयार गर्नुपर्छ र दुई जनामध्ये एकजना अनिवार्य महिला हुनुपर्छ। र, क्रियाशील सदस्यता दिएर बस्ने होइन, तालिम वा प्रशिक्षण दिने, पार्टीको काममा पनि लगाउने र आर्थिक विकासमा पनि लगाउने गरे अनुशासित कार्यकर्ता उत्पादन हुन्छन्।
आगामी महाधिवेशनको लागि तपाईंको तयारी चाहिं के छ ?
सभापतिको उम्मेदवार बन्ने तयारीमा जुटिसकेको छु। जिल्ला सभापतिदेखि विभिन्न नेता–कार्यकर्तासँग भेटघाट, छलफल र जूम मिटिङमा व्यस्त छु। यी भेटघाट र छलफलमा मैले उम्मेदवारीको कुरा गर्दा धेरै जना खुशी र उत्साहित हुनुहुन्छ।
सभापतिमा तपाईंको उम्मेदवारी किन ?
पहिलो कुरा, अहिलेको गुट–उपगुट समाप्त पार्न सक्छु। ठूलो पार्टीमा गुट नहुने भन्ने त नहोला, तर तल्लो तहसम्म गुटका कारण पार्टी निस्क्रिय र अस्तव्यस्त हुन दिन्नँ। पार्टीले भ्रातृ संस्थाहरुलाई क्रियाशील बनाउनै सकेन। भ्रातृ संस्था पार्टीको खम्बा भएकाले यसलाई क्रियाशील बनाइराख्न सक्छु। क्रियाशील सदस्यदेखि हरेक तहका संरचनालाई सक्रिय बनाइराख्न सक्छु र गुट–उपगुट अन्त्य गर्दै गिरिजाबाबुले भन्ने सहमति, सहकार्य र एकताको पक्षबाट पार्टीलाई अगाडि बढाउँछु।
म सभापति बनेमा भ्रातृ संस्था पार्टीको खम्बा भएकाले यसलाई क्रियाशील बनाइराख्न सक्छु। क्रियाशील सदस्यदेखि हरेक तहका संरचनालाई सक्रिय बनाइराख्न सक्छु र गुट–उपगुट अन्त्य गर्दै गिरिजाबाबुले भन्ने सहमति, सहकार्य र एकताको पक्षबाट पार्टीलाई अगाडि बढाउँछु।
पार्टी राजनीतिलाई आर्थिक विकाससँग जोडेर अगाडि बढाउने मेरो सोच छ। ‘पोलिटिक्स विथ डेभलपमेन्ट’को अवधारणाबाट मैले काम पनि शुरु गरिसकेको छु।
राजनीति र विकासलाई सँगसँगै लैजाने कस्तो अवधारणा हो ?
अब राजनीति मात्र गरेर हुँदैन, भोटको लागि मात्र कार्यकर्ताको बीचमा पुगेर हुँदैन। पार्टीले आफ्ना सदस्यहरूलाई आर्थिक विकासमा लगाउनुपर्छ। कोरोना महामारीका कारण मानिसको रोजगारी गुमेको छ, देश झन् गरीबीतिर जाँदैछ। यो अवस्थालाई सोचेर योजना बनाउनुपर्छ।
हरेक व्यक्तिले राजनीति र आर्थिक विकासलाई सँगै लैजाने भन्ने अवधारणा हो, यो। यसै अनुसार मैले जीपी फाउन्डेसन वा अन्य माध्यमबाट काम शुरु गरिसकेको छु। अहिले मुख्य रूपमा तीन क्षेत्र पर्यटन, कृषि र सम्बन्धित ठाउँको प्राकृतिक स्रोतसाधनमा प्राथमिकता दिएको छु। विज्ञ, प्राविधिकहरु समेतको टीम बनाएर काम हुन थालिसकेको छ। मान्छेको आयस्तर बढाउने र कुनै गाउँ–बस्तीलाई सबै सुविधायुक्त नमूना सिटी बनाउने योजना छ। त्यो निर्माण कार्यमा सम्बन्धित ठाउँकै बासिन्दाले रोजगारी पाउँछन्। मेरो त्यो ‘ड्रिम प्रोजेक्ट’ अनुसार धादिङको दुर्गम क्षेत्र रुबीभ्यालीमा यो शुरु भइसकेको छ, अन्य केही ठाउँमा पनि शुरु हुँदैछ। यस्तो विकासको काम पार्टीले नगरेपछि मैले शुरु गरेको हो।
सभापतिमा कोइराला परिवारबाटै तीन जना (शेखर कोइराला र शशांक कोइराला समेत) ले उम्मेदवारको दाबी गर्नुभएको छ, तीन जनाबीच यस विषयमा छलफल भएको छ ?
हामीबीच छलफल भएको छ। मलाई विश्वास छ, दुई जनाबाट मैले सहयोग पाउँछु। हामीबीच एकदम राम्रो बुझाइ छ। एउटै परिवारका भएकाले दुःख–सुख देखेका छौं। मुलुकको लागि नेपाली कांग्रेसको खाँचो छ, पार्टीलाई बचाउन र बढाउँदै लैजान राम्रो नेतृत्वको आवश्यकता छ। हामी हेर्छौं, एक–दुई राउण्डपछि कसको पक्षमा बढी मत आउने देखिन्छ, मिलेर जान्छौं। पार्टीलाई अब नयाँ ढंगबाट लैजानुपर्नेछ। अर्को कुरा, म जाँदा पार्टीको इतिहास बन्छ। देशभरिका युवा र ५१ प्रतिशत महिलालाई समेट्ने योजना र कार्यक्रम मसँग छ।
पार्टीको हरेक संरचनामा महिलाको सीट सुनिश्चित गर्नैपर्छ। अवसर दिएपछि महिलाहरु झन् धेरै आउँछन् र यसले त समग्रमा पार्टीलाई नै फाइदा हुन्छ। तर महिलाहरु पनि म गर्छु, सक्छु भनेर अगाडि आउनुपर्छ।
पार्टीको लागि हामी त्याग्न तयार छौं, लड्न पनि तयार छौं। तर मेरो भनाइ के हो भने, २०१६ सालको संसदीय चुनावमा महिला निर्वाचित भएर मन्त्री भएको पार्टीमा ६१ वर्षपछि कांग्रेसको नेतृत्वमा महिला आउनैपर्छ।
कांग्रेसको विधानले हरेक संरचनामा एक तिहाइ महिला हुनुपर्ने भनेको छ, केन्द्रमा पदाधिकारीमा एक जना सहमहामन्त्री पदमा कोेटा निर्धारण गरिए पनि तल्लो संरचनामा त पदाधिकारीमा सीट सुनिश्चित छैन नि!
त्यही कुरा अहिले हामी उठाइरहेका छौं। पार्टीको हरेक संरचनामा महिलाको सीट सुनिश्चित गर्नैपर्छ। अवसर दिएपछि महिलाहरु झन् धेरै आउँछन् र यसले त समग्रमा पार्टीलाई नै फाइदा हुन्छ। तर महिलाहरु पनि म गर्छु, सक्छु भनेर अगाडि आउनुपर्छ। यसमा नेपाल महिला संघ, महिला विभागको भूमिका अझ सक्रिय हुनुपर्छ। छलफलहरु त गरिराख्नुभएको छ, तर जति हुनुपर्ने हो, गुट–उपगुटका कारण हुनसकेको छैन। मैले उम्मेदवारी दिएपछि धेरै महिलालाई हौसला बढ्छ र झन् धेरै महिला अगाडि निस्किन्छन्। जिल्ला सभापतिमा आउने महिलाको संख्या पनि बढ्ने निश्चित छ।
तपाईंलाई कोइराला परिवारको छोरी भएका कारण यहाँसम्म आउन अरुलाई भन्दा सहज भयो होला नि !
त्यसो होइन। मेरो संघर्ष र मिहिनेतले यहाँसम्म आइपुगेकी हुँ। विगत ३० वर्षदेखि पार्टीमा सक्रिय भएरै काम गरिरहेकी छु। बरु गिरिजाप्रसाद कोइरालाको छोरी भएका कारण पार्टीका नियम–कानूनले म पछाडि परें, मभन्दा पछाडि राजनीतिमा आएकाहरु अगाडि गइसके। कतिलाई पारिवारिक पृष्ठभूमिले फाइदा भएको होला, तर मलाई चाहिं पछाडि पारेको छ।
प्रसंग बदलौं, अहिलेको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको भूमिकालाई कुन रुपमा हेर्नुभएको छ ?
अहिले हरेक ठाउँमा कांग्रेस कमजोर भूमिकामा देखिएको छ। यो पार्टीकै कारणले हो। यत्रो कोरोना महामारी आएको छ, सरकारले यो विपद्को बेला नागरिकलाई सुविधाहरु दिएको छैन। तर, कांग्रेसले न आवाज उठाएको, न त आफूले केही गरेको छ। पार्टीको यति ठूलो संरचना छ, यस्तो संकटको बेला परिचालन गर्नुपर्ने हो। तर, नेतृत्वले गरेन।
मेरो संघर्ष र मिहिनेतले यहाँसम्म आइपुगेको हुँ। विगत ३० वर्षदेखि पार्टीमा सक्रिय भएरै काम गरिरहेको छु। बरु गिरिजाप्रसाद कोइरालाको छोरी भएका कारण पार्टीका नियम–कानूनले म पछाडि परें, मभन्दा पछाडि राजनीतिमा आएकाहरु अगाडि गइसके।
प्रतिपक्षको भूमिकामा पनि कांग्रेस साह्रै कमजोर देखियो। अहिले सरकार नै कमजोर छ, प्रतिपक्ष पनि त्यस्तै भएपछि काम नै भएको छैन। कमजोर प्रतिपक्ष भएकै कारण सरकारले जे मन लाग्यो त्यही गरिरहेको छ। संसद् पनि खोल्नुपर्ने हो। तर, यसमा पनि प्रतिपक्षी दलले आवाज उठाउन सकेको छैन। जसका कारण जनताका प्रतिनिधिले बोल्न पाएका छैनन्, आवश्यक विधेयकहरु पारित हुनै बाँकी छन्।
तपाईंलाई क्यान्सर भएको थियो, अहिले स्वास्थ्य कस्तो छ ?
स्वास्थ्य एकदम ठीक छ। साँच्चै भन्ने हो भने, क्यान्सर हुनुअघिभन्दा पनि अहिले राम्रो छ। बिरामी हुनुअघि खानपान, शारीरिक व्यायाममा ध्यान नदिने बानी थियो। तर अहिले बढी ख्याल गर्छु। यसले गर्दा मानसिक शान्ति छ। शारीरिक रुपमा झन् स्वस्थ भएकै कारण पार्टीको नेतृत्व गर्ने साहसले सभापतिमा उठ्ने निर्णय गरेकी हुँ।