७७ जिल्लामै नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमले देशका ७७ जिल्लामै फोरजी मोबाइल सेवाको पहुँच पुर्याएको छ। मोबाइल सेवाको विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमले जानकारी दिएको छ।
प्रयोग गरिने मोबाइल सेटको कारणले पनि गुणस्तरमा फरक पर्ने हुनाले फोरजी मोबाइल सेटको प्रयोगमा पनि यसको गति भर पर्ने हुन्छ।
टेलिकमको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध छ। तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध छ। फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा व्याण्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिने पनि टेलिमले उल्लेख गरेको छ।
बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज व्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज व्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ।
दुवै व्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ। यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको भन्दै टेलिकमले ग्राहकलाई सचेत गराएको उल्लेख छ।
फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ। मोबाइल सेटको सेटिङमा गएर मोबाइल नेटवर्कको अप्सनभित्र टुजी देखि फोरजीसम्मको विकल्प छनोट गर्नुपर्ने पनि टेलिकमले जानकारी दिएको छ।
यसका अतिरिक्त, नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताहरूले नयाँ मोबाइल सेट खरिद गर्नु अघि १८०० मेगाहर्ज र ८०० मेगाहर्ज व्याण्डका बारेमा जानकारी राखी दुवै व्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्नु टेलिकमले अनुराेध गरेकाे छ। प्रविधिको विकासले ल्याएका अवसरहरुको उचित प्रयोग गर्नु हुन कम्पनीका ग्राहकवर्गलाई अनुरोध गरेको टेलिकमले सोमबार जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख छ।