आमा र बुबा बिते, आफैलाई सहारा चाहिने बृद्ध बाजे-बज्यैले हुर्काइरहेछन् दुई नाबालक
मुगुको छायाँनाथ रारा नगरपालिका–२ तलितुम गाउँका रामकृष्ण तिरुवा भर्खर २ वर्ष पूरा भए। उनी उमेरले आमाबाबुसँग खेल्दै हुर्किँदै गर्ने समयमा छन्। आमाको काख र बाबुको पिठ्युँमा लडिबुडी गर्दै हुर्किने उमेरका रामकृष्ण यो अवसरबाट भने बञ्चित छन्। किनकी, यो उमेरमै उनले आमाबाबु गुमाउनुपर्यो।
गर्भमै हुँदा बाबु गुमाएका रामकृष्णले २ वर्ष पुग्दा नपुग्दै आमा गुमाउनुपर्यो। रामकृष्ण २०७५ को असोज अन्तिम साता जन्मिएका थिए। तर, उनी जन्मिनु ५ महीनाअघि नै उनका बाबुको काठमाडौंमा ज्याला मजदुरी गर्ने क्रममा लडेर मृत्यु भइसकेको थियो। रामकृष्णले पिताको अनुहार देख्नै पाएनन्।
उनी दुई वर्ष पुग्नै लाग्दा गएको ५ असोजमा उनकी आमाको पनि मृत्यु भयो। घाँटीको समस्याका कारण रामकृष्णकी आमाले उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा प्राण त्यागिन्। रामकृष्ण अहिले आफ्ना हजुरबा हजुरआमासँग हुर्किरहेका छन्।
रामकृष्णका ५ वर्षीय दाजु हरिकृष्ण पनि छन्। उमेर ढल्किँदै गरेका हजुरआमा (६३) र हजुरबुवा (६६) सँग बसिरहेका उनीहरूको पालनपोषणमा समस्या देखिएको छ।
घरको खेतिपातिले ३ महीना समेत खान नपुग्ने परिवारमा बिहान–बेलुकाको छाक टार्नै समस्या हुने गरेको छ। उनीहरूको पढाई–लेखाई पनि प्रभावित भएको छ।
“सानो नाती बुहारीको गर्भमा ५ महीनाको हुर्कँदै थियो, ठूलो नाती २ वर्ष पुगेको थियो छोराको मृत्यु भयो। अहिले बुहारीको पनि मृत्यु भएपछि यिनीहरू टुहुरा भए”, हजुरबुवा भक्त तिरुवाले भने, “अब यी टुहुरा नाबालकको कसले पालन पोषण गर्देला? हामी डाँडामाथिका घाम भइसक्यौं।”
आफ्नो हेरचाह गर्न अरुको सहारा चाहिने उमेरमा रामकृष्ण दाजुभाईको हेरचाह र पालनपोषण कसले गरिदेला भन्ने चिन्ताले साह्रै सताउने गरेको तिरुवा दम्पति बताउँछन्। भन्छन्, “यी नातीहरूको पालनपोषण र पढाई गर्न कोही भगवान बनेर आइदिए हुन्थ्यो।”