धमाधम नियुक्तिको बाटोमा क्यान, अहिलेसम्म क-कसले पाए जिम्मेवारी ?
नेपाल क्रिकेट संघ (क्यान) ले कर्मचारी र प्राविधिकहरु धमाधम नियुक्त गर्न थालेको छ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भइकन क्यानले सहायक प्रशिक्षक, फिटनेस ट्रेनर र न्युट्रिसनिस्ट नियुक्त गरिसकेको छ।
क्यानले ज्ञानेन्द्र मल्ललाई क्रिकेट टिमको न्युट्रिसनिस्ट नियुक्त गरेको आइतबार जनाएको छ। गएको बिहीबारदेखि नै लागू हुने गरी उनलाई नियुक्त गरेको र उनी बन्द प्रशिक्षणमा रहेका खेलाडीसँगै रहने क्यानले उल्लेख गरेको छ।
यसअघि क्यानले फिटनेस ट्रेनरका रुपमा भारतका आशय हट्करलाई नियुक्त गरेको छ। त्यस्तै सहायक प्रशिक्षकको जिम्मेवारी पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाललाई दिइएको छ। खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा नै प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको थियो। फिजियो विक्रम न्यौपानेले टीम व्यवस्थापकको भूमिका पनि निर्वाह गरिरहेका छन्।
क्यानले मुख्य प्रशिक्षक, जनरल म्यानेजर, चीफ फाइनान्स अफिसर र सातै प्रदेशका प्रशिक्षकको नियुक्ति प्रक्रिया पनि अगाडि बढाएको छ। मुख्य प्रशिक्षको नियुक्ति मंसीर दोस्रो साता नै हुने क्यानले जनाएको थियो।
क्यानले मुख्य प्रशिक्षकका निवेदकहरुमध्ये १२ जनाको अन्तरवार्ता लिइसकेको जनाएको छ। नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र अष्ट्रेलियाका डेभिड ह्वाटमोरले पनि अन्तरवार्ता दिएको बताइएको छ।
क्यानले जनरल म्यानेजरका लागि सात जना र फाइनान्स अफिसरका लागि तीन जनाको अन्तरवार्ता पनि लिइसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को रोहबरमा उनीहरुको अन्तरवार्ता लिइएको हो। अन्तरवार्ता लिइएकाको नाम सार्वजनिक गरिएको छैन।