९ वैशाखसम्म पार्टी एकता निष्कर्षमा : नेता आचार्य
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्र पार्टी एकताले मूर्तरुप लिने बताएका छन् ।
म्याग्दीको बेनीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले नेकपाको स्थापना दिवससम्म एकता प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताए ।
उनले पार्टीकाे शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पुर्याउने कसरतमा जुटेको बताए । “अब पछि फर्कने ठाउँ छैन, एकतामार्फत् एकबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने ।
वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने आधार तयार गरिसकेको बताउँदै नेता आचार्यले नयाँ संविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताए ।
जनतामा सार्वभौमसत्ताको अधिकार रहेकाले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह समेत उनले गरे ।