माराडोनाका डाक्टरको घर र क्लिनिकमा अर्जेन्टिनी प्रहरीको छापा
अर्जेन्टिनाका महान् फूटबल खेलाडी डिएगो मारोडोनाको मृत्यु भएको चार दिनपछाडि त्यहाँको प्रहरीले उनका डाक्टर लियोपोल्डो लुकेको घर र क्लिनिकमा छापा मारेको छ।
प्रहरीले माराडोनाको उपचारमा लापरबाही भए नभएको अनुसन्धान गरिरहेको छ। त्यही क्रममा डा.लुकेको घरमा छापा मारिएको हो। माराडोनाको हृदयघात भइ गएको बुधबार राजधानी ब्युनर्स आयर्सस्थित उनकै घरमा मृत्यु भएको थियो।
माराडोनाको छोरीले आफ्ना बाबुलाई कुन औषधि प्रयोग भइरहेको थियो भन्ने अनुसन्धान गर्न माग गरेकी थिइन्। नोभेम्बरको शुरुमा नै उनको मस्तिष्कबाट जमेको रगत निकाल्न सफल शल्यक्रिया गरिएको थियो। यसका अतिरिक्त रक्सीको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो।
डा. लुकेले आफूले प्रहरी जाँचलाई सहयोग गर्ने बताएका छन्। उनले माराडोनाका लागि अन्तिम समयसम्म संभव सबै काम गरेको बताएका छन्।
करीब ३० प्रहरीले स्थानीय समयअनुसार आइतबार बिहान डा. लुकेको घरमा छापा मारेका थिए। अरु ३० प्रहरीले ब्यनर्स आयर्सस्थित उनको क्लिनिकमा छापा मारेका थिए। प्रहरीले माराडोनालाई अन्तिम दिनहरुमा के भएको थियो भन्ने पनि अनुसन्धान गरिरहेको छ।
जब उनलाई स्वास्थ्यलाभको लागि घर पठाइयो, उनी त्यो अवस्थामा नरहेको र क्लिनिकमा नै राख्नुपर्ने आवश्यकता भएको बताइएको छ। यसबारे अनेक समाचार बाहिर आउन थालेपछि परिवारको आग्रहमा प्रहरीले अनुसन्धान थालेको हो।