नाइजेरियामा खेतमा काम गरिरहेका ४३ मजदूरको घाँटी रेटेर हत्या
उत्तर-पूर्वी नाइजेरियामा शनिबार खेतमा काम गरिरहेका मजदूरमाथि आक्रमण गरी कम्तीमा ४३ जनाको हत्या गरिएको छ।
विभिन्न मिडियाका समाचारलाई उद्धृत गर्दै बीबीसले जनाएअनुसार नाइजेरियाको बोर्नो राज्यको राजधानी मेडुगुरीनजिक धानखेतमा काम गरिरहेका मजदूरमाथि आक्रमण भएको हो। आक्रमणकारीले उनीहरुलाई पहिला बाँधेका थिए। त्यसपछि घाँटी रेटेर हत्या गरिएको थियो।
उक्त क्षेत्रमा इस्लामिक उग्रवादी बोको हराम र इस्लामिक स्टेट (आईएस) पश्चिम अफ्रिका सक्रिय छन्। तर, कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन्। यो आक्रमणलाई विगत केही महीना यता भएकामध्ये ‘सबैभन्दा बीभत्स’ बताइएको छ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले यो हमलालाई ‘पागलपन’ बताएका छन्। उनले हमलाको निन्दा गर्दै भनेका छन्, “मिहिनेत गरिरहेका मजदूरमाथि भएको हमलाको जति निन्दा गरे पनि कम हुन्छ। यो घटनाबाट पूरा देश लज्जित भएको छ।”
एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सबैलाई रेटेर हत्या गरिए पनि केहीको शरीरमा अन्य गम्भीर चोटहरु पनि छन्। केही मजदूर अझै गायब भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
एएफपीका अनुसार मारिएका सबै मजदूर उत्तर-पश्चिमी राज्य साकोतोका बासिन्दा थिए। उनीहरु कामको खोजीमा एक हजार किलोमिटर टाढा बोर्नो राज्यमा आएका थिए।