माराडोनालाई गोल समर्पण गर्न जर्सी खोलेपछि मेस्सीलाई पहेँलो कार्ड
स्पेनिस ला लिगाअन्तर्गत भखैरै सकिएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोलले पराजित गरेको छ। उक्त खेलमा गोल गरेलगत्तै मेस्सीले पहेँलो कार्ड पाएका छन्।
मेस्सीले ७३औँ मिनेटमा बार्सिलोनाका लागि चौँथो गोल गरेका थिए। गोल गरेलगत्तै उनले जर्सी खोलेर भुईंमा राखी हातले आकाशतिर देखाउँदै आफ्नो गोल डिएगो माराडोनालाई समर्पण गरेका थिए। उनले भित्रबाट लगाएको नेवेल्स वल्ड बोइज क्लबको नम्बर १० को जर्सी देखाउन आफ्नो बार्साको जर्सी खोलेका थिए।
माराडोनाले आफ्नो करियरको अन्तिम वर्षतिर अर्जेन्टिनाको उक्त क्लबबाट खेलेका थिए। मेस्सीले पनि आफ्नो करियर त्यही क्लबबाट शुरु गरेका थिए। माराडोनाले दुई सिजन बार्सिलोनाबाट पनि खेलेका थिए। उनले सन् १९८२/८३ र १९८३/४४ को सिजन बार्सिलोनाबाट ला लिगा खेलेका थिए।
उनै अर्जेन्टिनाको उक्त क्लबबाट महान् खेलाडको सम्मानमा जर्सी खोल्दा मेस्सीले पहेँलो कार्ड पाए। खेल भइरहेको वेला कोही पनि खेलाडीले जर्सी खोल्न पाउँदैन। जस्सी खोलेपछि मेस्सीलाई रेफ्रीले तुरुन्तै पहेँलो कार्ड देखाएका थिए।
गएको बुधबार माराडोनाको मृत्युपछि बार्सिलोनाले पहिलो खेल खेलेको हो। उक्त खेल बार्साले माराडोनाप्रति समर्पण गरेको थियो। त्यसका लागि माराडोनाले बार्साका लागि लगाएको जर्सी मैदानमा प्रदर्शन गरिएको थियो।
खेल बार्साले ४-० ले जित्दा मेस्सीका अतिरिक्त मार्टिन ब्रेथवेट, एन्टिनियो ग्रिजमान र फिलिप कौटिन्हो पनि गोल गरे। जितसँगै नौ खेलबाट १४ अंक बटुल्दै बार्सा सातौँ स्थानमा उक्लिएको छ। शीर्षस्थानको रियल सोसिडाडको २३ अंक छ।