एक दिने भ्रमण सकेर फर्किए चिनियाँ रक्षामन्त्री फेङ्गवे
नेपालको एक दिने भ्रमणमा आएका चीनका रक्षामन्त्री वेई फेङ्गवे आइतबार साँझ स्वदेश फर्किएका छन्।
नेपालमा रहँदा फेङ्गवेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गरे। भेटघाटका क्रममा उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र सैन्य सहायतालगायत विषयमा छलफल गरेका छन्।
रक्षामन्त्री फेङ्गवे नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भए। शुरूमा जंगी अड्डामा उनको सम्मानमा आयोजना गरिएको सम्मान गारद ग्रहण तथा निरीक्षणमा सहभागी भए। त्यसपछि उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गरे। भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग फेङ्गवेले भेट शिष्टाचार गरे। भेटमा दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य फेङ्गवेसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालमा भएको चिनियाँ राष्ट्रपति सी चीनफिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गरे।