स्वीट्जरल्याण्डले दिने करिब रु १ अर्ब २५ करोड नेपाली रकम सहायता स्वीकार गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्ले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण अन्तरगत स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब रु १ अर्ब २५ करोड नेपाली रकम सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सो रकम प्रदेश नम्बर १ कालागि खर्च गरिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले बताए।
साथै सरकारले द्वन्द्वकालीन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने भएको छ। ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको हो।
गैरकानूनी रुपमा नेपाल बसोबास गरिहेका मौरिसस नागरिक राहुल पञ्चुले बुझाउनुपर्ने विलम्ब शुल्क बराबर ६ हजार १६० अमेरिकी डलर र जरिवाना वाफत २५ हजार मिनाहा दिने र देश निकाला गर्ने निर्णय पनि सरकारले गरेको छ।
सरकारले कतार सरकारबाट उपहारमा आउने मर्सिडिज बेन्ज इ१८० मोडलका कारणहरू परराष्ट्र मन्त्रालयबाट प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति पनि दिएको उनले बताए।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थिगित गर्ने, जिल्ला समन्वय समिति महासंघ नेपाललाई कार्यालय सञ्चालनका लागि १५ लाख अनुदान दिने र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयको व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रको मस्यौदामा सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय सरकारले गरेको छ।