जंगी अड्डामा चिनियाँ रक्षामन्त्री: सम्मान गारद ग्रहणदेखि सैन्य सहकार्यको प्रतिवद्धतासम्म (तस्वीरहरू)
नेपालको एकदिने भ्रमणमा आएका चीनका रक्षामन्त्री वेई फेङ्गवे नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन्।
शुरूमा उनी जंगी अड्डामा उनको सम्मानमा आयोजना गरिएको सम्मान गारद ग्रहण तथा निरीक्षणमा सहभागी भए। त्यसपछि उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गरे। भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भेटवार्तापछि चिनियाँ प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो। त्यसपछि चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको जंगी अड्डाले जनाएको छ।
मुख्यगरी कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यलाई सञ्चालन गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो। छलफलका क्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो।
रक्षामन्त्री वेई र उनको प्रतिनिधिमण्डलले दुवै विषयहरूलाई सकारात्मक रूपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्य यथाशिघ्र सञ्चालन गर्ने बताएका थिए। रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड-१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरे।
उनको भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ।
थप तस्वीरहरू: