प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गवेबीच बालुवाटारमा भेट
नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्गवेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइतबार नेपाल भ्रमणमा आएका फेङ्गवेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
एकदिने भ्रमणका लागि फेङ्गवे २१ सदस्यीय टोलीको नेतृत्व गरेर आइतबार काठमाडौं आएका हुन्। उनी आजै फर्कनेछन्। यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा र फेङ्गवेबीच जंगी अड्डामा द्विपक्षीय वार्ता भएको छ।
उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ।
फेङ्गवेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको विमानस्थलमा जानकारी दिएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारेका थिए।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उँचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए।
हाल रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् ।