ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै सरकारद्वारा अस्वीकार
सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै अस्वीकार गरेको छ।
आइतबार भएको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए।
"ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार नियन्त्रणको लागि गरेको प्रयासका लागि नेपाल सरकार सम्मान गर्दछ। यसका प्रतिवेदनले सहयोग पुर्याओस् भन्ने चाहन्छ। तर हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णत: राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। प्रमाणित नभएका आधारहीन तथ्य तथ्यांक जुटाएर कुनै खोज अनुसन्धान विनै मनोगत धारणाबाट अभिप्रेरित छ" प्रवक्ता गुरुङले भने, "सरकार र सत्तारुढ दललाई बदनाम गर्न खोज्ने प्रयासस्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ। यस संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले तिनको निष्पक्षतामा विश्वास गर्न सकिन्न।"