विदेशी नआएपछि नेपालीका लागि शुरु भयो माउन्टेन फ्लाइट, आन्तरिक पर्यटक लोभ्याउन वायुसेवाका आकर्षक प्याकेज
आन्तरिक वायुसेवा कम्पनीले साढे आठ महीनापछि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गर्न थालेका छन्। आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले १३ मंसीरदेखि नै माउन्टेन फ्लाइट शुरु गरेको छ भने यती एअरलाइन्सले २० मंसीरदेखि उडान शुरु गर्ने तयारी गरेको छ।
विदेशी पर्यटकको रोजाइमा पर्ने र पर्यटकबाट मात्रै चलेको यस्तो उडानमा पहिलो पटक नेपालीलाई मध्यनजर गरेर वायुसेवा कम्पनीहरुले पर्वतीय उडानको प्याकेज ल्याएका छन्। बुद्ध एअरले शनिबारबाट रु.८९०० मा एउटा टिकट लिंदा अर्को टिकट सित्तैंमा पाइने सुविधासहितको प्याकेजबाट पर्वतीय उडान शुरु गरेको छ। यो वायुसेवाले उडान शुरु गरेपछि यती एअरलाइन्सले पनि आगामी शनिबारबाट रु.८९९८ मा एउटा टिकट किन्दा अर्को सित्तैंमा अफर ल्याएको छ। यात्रुले विमानको झ्याल भएको सिटको टिकट किन्दा अर्को टिकट भने सँगैको झ्याल नभएको सिटको पाइने वायुसेवा कम्पनीहरुले बताएका छन्।
नेपाली पर्यटकलाई आकर्षित गर्न जोडी वा एकै परिवारका सदस्यसहितको निम्ति उक्त प्याकेजको टिकट लिएर आलोपालो हिमाल हेर्न सकिने भएकोले यस्तो प्याकेजमा टिकट बिक्री गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। उनका अनुसार पर्वतीय उडानमा नजाने र विदेशीको तुलनामा नेपालीको रुचि नै नहुने यस्तो उडान अब नेपाली पर्यटकको पनि रोजाइमा ल्याउन प्याकेजमा सेवा दिन लागिएको हो।
आन्तरिक वायुसेवाको पर्यटकीय सिजनमा सबैभन्दा बढी आम्दानी हुने र बिहान १०-११ बजेसम्म व्यस्त हुने उडान नै माउन्टेन फ्लाइट हो। कोरोना कहरका कारण सबै वायुसेवाको पर्वतीय उडान ६ चैत २०७६ देखि ठप्प छ। कोरोना महामारी शुरू भएदेखि ठप्प रहेको माउन्टेन फ्लाइट फेरि साढे आठ महीनापछि खुल्यो भन्न पाउँदा सकारात्मक सन्देश जानुका साथै पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने यती एअरका प्रवक्ता बर्तौला बताउँछन्।
खासगरी पर्यटक आउने र चहलपहल नभएसम्म पर्वतीय उडान नचल्ने हुँदा आन्तरिक पर्यटक प्राथमिकतामा नै पर्दैनन्। पर्वतीय उडानको टिकट महँगो हुने भएकोले यस अघि पनि नेपाली जहाज चढेर हिमाल हेर्न विरलै जान्थे। पर्यटनको विभिन्न विधामध्ये पर्वतीय उडान पनि आकर्षक क्षेत्र भएकोले अब नेपाली पर्यटकलाई प्राथमिकता दिने योजना अनुसार छूट दिएरै भए पनि उडान शुरु गर्न खोजिएको बर्तौला बताउँछन्।
“हामीले पर्यटन गतिविधि बढाउन करीब दुई महीना अघिदेखि नै कसरत गर्दै यो प्याकेज ल्याएका छौं" उनले भने, “यो अवसरलाई सदुपयोग गरी यात्रुुहरूले गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, अमादब्लम हिमश्रृंखलाहरूसँगै सगरमाथा नजिकबाट हेर्न पाउने छन्।”
माउन्टेन फ्लाइट सबै वायुसेवाको बिहानै हुने र सबै विदेशी यात्रु मात्रै हुने गरेका थिए। त्यसमा पनि डलर फेयरमा मात्रै हुने यस्तो उडान वायुसेवाको लागि आकर्षक आम्दानीको स्रोत थियो। माउन्टेन फ्लाइट गर्दा आन्तरिक वायुसेवाले प्रतिपर्यटक १५५ डलर इन्धन र यात्रु सेवा शुल्क बाहेक नै लिने गरेका थिए।
हरेक गन्तव्यको हवाई भाडा इन्धनको मूल्य र अन्य वायुसेवाको तुलनामा घटबढ हुने गर्छ। गत वर्ष चैतमा रु.१११५० लिएर दिएको यस्तो माउन्टेन फ्लाइटको टिकट विदेशी पर्यटकलाई भने यो वर्ष रु.१३४९९ तोकिएको छ। विदेशीले पनि एउटा टिकट किन्दा दुईवटा पाउने छन्। नेपालीलाई भने तुलनात्मक रुपमा सस्तो टिकट दिएर पर्वतीय उडानको बानी पार्ने र विस्तारै आकर्षित गर्न खोजिएको वायुसेवा कम्पनीको भनाइ छ।
कोभिड-१९ अगाडि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा धेरै हुने यस्तो माउन्टेन फ्लाइट पर्यटकको इच्छा अनुसार बाह्रै महीनासम्म हुन थालेको थियो। निजी क्षेत्रका वायुसेवा सबैजसोले बिहानको समय माउन्टेन फ्लाइटलाई नै प्राथमिकता दिएर उडान गर्दै आएका थिए। यस्तो उडान हरेक दिन बुद्ध एअरले २० वटा, यती एअरले १५ वटा, श्री एअरले १५ वटा, सिम्रिक एअरले ५ वटासम्म गर्दै आएका थिए। पर्यटक आगमन ठप्प हुँदा यो वर्ष भने माउन्टेन फ्लाइटको सिजन भए पनि उडान भने ठप्प रहेको बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रूपेश जोशी बताउँछन्।
जोशीका अनुसार अब हरेक शनिबार एउटा उडान गर्दै जाने र विस्तारै नेपालीलाई आकर्षित गर्ने योजना अनुसार पर्वतीय उडान शुरु भएको हो। दैनिक १५ वटासम्म उडान हुने डलर आम्दानीको सबैभन्दा राम्रो स्रोत भएको यस्तो उडान ठप्प हुँदा वायुसेवा कम्पनीलाई भने ठूलो मार परेको थियो।
'प्राइस-वार'ले सस्तो टिकटमै उडान
आन्तरिक वायुसेवाबीच यात्रु तान्ने प्रतिस्पर्धाले चलेको 'प्राइस-वार'ले आन्तरिक वायुसेवाका यात्रुलाई फाइदा पुगेको छ। आन्तरिक वायुसेवाले सञ्चालन खर्च घटाएका, २५ प्रतिशत कर्मचारीलाई घरमै राखेर न्यूनतम पारिश्रमिक मात्रै उपलब्ध गराएर र विभिन्न शीर्षकमा खर्च कटौती गरेका कारण कम्पनी टिकाउनको लागि मात्रै भए पनि सस्तोमा हवाई टिकट बिक्री गरिरहेको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ।
आन्तरिक वायुसेवाको लागि जाडो महीना अफ सिजन हुने, मौसम ढिलो खुल्ने र हवाई रुटमा एकैपटक चाप पर्ने भएकोले ५० प्रतिशतसम्म उडान पनि घट्ने गरेको छ। उडान कम हुँदा पनि यात्रु पूर्ण क्षमतामा नहुने मौसम त्यसमा पनि कोरोना महामारीले यात्रु आउन छोडेकोले सस्तोमै टिकट दिन बाध्य भएको यती एअरलाइन्सको भनाइ छ।
यती एअरलाइन्सका अनुसार काठमाडौंबाट तुम्लिङटारबाहेक यसका सबै गन्तव्यको टिकट सामान्य अवस्थाको तुलनामा ५० देखि ६० प्रतिशतसम्म सस्तो रहेको छ। बुद्ध एअरले पनि सुर्खेत बाहेकको सबै गन्तव्यमा सस्तो टिकट बिक्री गरिरहेको छ।
महमारीपछि खुलेको उडानमा यात्रु नभएको कारण यस अघिको राजनीतिक द्वन्द्व, बन्द-हड्ताल तथा कुनै पनि अप्ठेरो अवस्थाको तुलनामा सस्तो टिकट बिक्री भइरहेको बुद्ध एअरका वरिष्ठ निर्देशक रुपेश जोशी बताउँछन्। उनका अनुसार, पोखरा, भैरहवा, भरतपुर, सिमरासहितको गन्तव्यको उडान दुई हजार रुपैयाँसम्म नै आइरहेको छ। यात्रुको माग कम हुने र वायुसेवाको प्रतिस्पर्धा बढी हुने गन्तव्यमा टिकट सस्तो दिन बाध्य भएको उनले बताए।
काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य मानिने धनगढी १३ हजारसम्म टिकट मूल्य पुग्ने गरेकोमा यो गन्तव्यमा पनि आधा भन्दा सस्तोमा टिकट किनबेच भइरहेको छ। यसले गर्दा यात्रुले भने सस्तोमा उडान गर्न पाएका छन्।