विज्ञान विषयको अवैज्ञानिक शिक्षण सिकाइ कहिलेसम्म ?
जीवन र जगतसँग प्रत्यक्ष र परोक्षरुपमा जोडिने विज्ञान विषयलाई जानी नजानी हाउगुजी बनाउने पहिलो काम शिक्षकहरुबाटै भएको छ। यसो हुनुको पछाडि शिक्षक स्वयंले विद्यार्थी जीवनमा पाएको नीरस सैद्धान्तिक ज्ञान नै हो, जसले विज्ञानलाई रचनात्मक तरिकाले बुझ्नै पाएनन्।
'ममी म त पछि विज्ञान पढ्दिनँ', कक्षा ६/७ मा पढ्दाताका छोराले भनेको मेरो मानसपटलमा अझै गुञ्जिरहन्छ। छोरालाई मात्र नभएर छोरीलाई पनि विज्ञान विषय कहिल्यै रुचिकर लागेन। हामी अभिभावकले पनि कहिल्यै छोराछोरीलाई विज्ञान विषय पढ्नै पर्छ भनेनौँ। बरु जे विषय पढे पनि 'टुङ्ग्याउनु चाहिं पर्छ है', मात्र भनिरह्यौं।
छोरीले पत्रकारितामा स्नातकोत्तर गरिन् र स्वरोजगार बनिन्। भातभान्साको काममा रुचि राख्ने छोराले ‘सामाजिक कार्य’को अन्तिम परीक्षाको नतिजा कुर्दाताका कुलिनरी आर्ट्समा डिप्लोमा गर्यो। अनि चार वर्षअघि उच्चशिक्षाका लागि विदेशियो।
‘आजको युग विज्ञानको युग हो’ भनेर ऊवेला विज्ञान विषय लिएर पढेको थिएँ। तर, मजस्ता कतिपय अभिभावक र शिक्षकले हिजो र आज मात्र हैन सदासर्वकाल मानव बाँचेको युग नै विज्ञानको युग हो भनेर बुझाउन सकेका छैनौं। यसैको नकारात्मक र दूरगामी परिणाम आज देशले भोगिरहेको छ।
विज्ञान आफैँमा रुचिकर मात्र हैन जीवन र जगतसँग जोडिने यस्तो विषय हो, जसले मानव जीवनलाई बचाउन हरसम्भव प्रयास गर्दै आएको छ। तथापि यसको अवैज्ञानिक र निष्क्रिय शिक्षण सिकाइले अधिकांश विद्यार्थीका लागि हाउगुजी बनेको छ।
विज्ञानको प्रारम्भिक शिक्षण सिकाइ नै निष्क्रिय र सैद्धान्तिक ज्ञानबाट शुरु भएपछि बहुसंख्यक विद्यार्थीका लागि यो विषय ‘हलुवामा बालुवा’ मिसिए सरह भएको छ। निष्क्रिय शिक्षण सिकाइ गर्ने कतिपय शिक्षक विज्ञान विषयलाई रुचिकर बनाउने उपाय खोज्नुभन्दा अन्य क्षेत्रमा आफ्नो बौद्धिकता खर्चिरहेको देखिन्छ।
विज्ञान विषय लिएर उच्चशिक्षा हासिल गरेकाहरु पछिल्लो समय पुस्तक र अखबारी लेखनलगायत अध्ययन अनुसन्धानमा आफ्नो बौद्धिकता खर्चिरहेका छन्। तर, उनीहरुको लेखन र अनुसन्धानमा विज्ञानलाई कसरी रुचिकर बनाउने भन्ने विषय परेको छैन। विशेष गरी विज्ञान विषयको प्रारम्भिक शिक्षण सिकाइले साना विद्यार्थीमा कौतूहल जगाउने पहिलो काम शिक्षककै हो।
तर, शिक्षकको नीरस व्यक्तिगत व्यवहार यसको बाधक बनेको छ। विज्ञानको मात्र हैन अन्य विषयका कतिपय शिक्षक विद्यार्थीका अगाडि चाहिनेभन्दा बढी अनुशासित हुन्छन्। यस्ता शिक्षकहरुको अनुहारमा विद्यार्थीले विरलै हाँसो देख्छन्। शिक्षक भएपछि विद्यार्थीका अगाडि सधैं गम्भीरमुद्रामा देखिनुपर्छ भन्ने मान्यता बोकेका र सोही अनुरुप आफूलाई प्रस्तुत गर्नेहरुसँग विद्यार्थी टाढिन खोज्छन्। त्यसैले विद्यार्थी पनि यस्ता शिक्षकहरुसँग आफ्ना जिज्ञासा राख्न हिच्किचाउँछन्।
यसरी शिक्षकसँग दोहोरो कुरा गर्न नसक्ने विद्यार्थीका लागि जुनसुकै विषय पनि हाउगुजी बन्छ। विद्यार्थीको मनोभावलाई बुझी सोही अनुरुप आफूलाई प्रस्तुत गर्न सके मात्र विद्यार्थीमैत्री शिक्षक बन्न सकिन्छ। विद्यालय तहका विद्यार्थीले शिक्षकलाई नै आदर्श व्यक्ति मानेका हुन्छन्। त्यसकारण विद्यार्थीसँग जतिसक्दो अन्तरक्रिया गर्नुपर्छ।
शिक्षकसँग दोहोरो कुरा गर्न नसक्ने विद्यार्थीका लागि जुनसुकै विषय पनि हाउगुजी बन्छ। विद्यार्थीको मनोभावलाई बुझी सोही अनुरुप आफूलाई प्रस्तुत गर्न सके मात्र विद्यार्थीमैत्री शिक्षक बन्न सकिन्छ। विद्यालय तहका विद्यार्थीले शिक्षकलाई नै आदर्श व्यक्ति मानेका हुन्छन्। त्यसकारण विद्यार्थीसँग जतिसक्दो अन्तरक्रिया गर्नुपर्छ।
अन्य विषयका लागि ज्ञान हासिल गर्न कक्षाकोठा आवश्यक भए पनि विज्ञान शिक्षकका लागि कक्षाबाहिर ज्ञान आर्जन गर्ने वस्तु अथाह हुन्छन्। जस्तो पूर्व प्राथमिक तहका विद्यार्थीलाई वनस्पति विज्ञान अन्तर्गत बोटबिरुवा, फलफूल र तरकारीबारे पढाउनुपर्छ। कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानलाई रमाइलोसँग बुझाउन यसबारे व्यावहारिक ज्ञान दिनुपर्छ। यसका लागि विद्यालय परिसरमा भएका बोटबिरुवासँगै कौसी र करेसाबारीमा फलेका तरकारी र फलफूल छोएर सजीव शिक्षण सिकाइ गर्न सकिन्छ।
यस्तै विद्यार्थीलाई अभिभावकको रोहबरमा तरकारी र फलफूलको बीउ उमार्न तथा बिरुवा हुर्काउने परियोजना कार्य दिन सकिन्छ। यस्ता परियोजना कार्यले विद्यार्थीमा कौतूहल मात्र नभएर विज्ञान विषयप्रति रुचि पनि जगाउँछ। पूर्व प्राथमिकतहमा पढ्दाताका तरकारी र फलफूलको बिरुवा उमार्ने र स्याहार्ने सीप सिकेका विद्यार्थीले तरकारी र फलफूल खान पनि सिक्छन्। जसले स्वस्थ हुन सिकाउँछ। ती विद्यार्थीलाई वनस्पति विज्ञान सहज र रुचिकर पनि लाग्छ।
वनस्पति विज्ञानजस्तै साना विद्यार्थीलाई जीव विज्ञान पनि पढाउनुपर्ने हुन्छ। उनीहरुले पाठ्यपुस्तकमा भएका विभिन्न प्रकारका जनावरबारे सचित्र नाम कण्ठ गर्दै पढ्नुपर्छ। जंगली जनावर चित्र देखाएर पढाए पनि कतिपय घरपालुवा जनावर त नजिकबाट देखाउँदै र छुँदै पढाउन सकिन्छ। यसका लागि गाउँटोलमा लैजान सकिन्छ। घरपालुवा जनावरमध्ये कुकुर र बिरालो सहजरुपमा भेटिन्छन्। यस्ता जनावर पाल्ने विद्यार्थीले घरमा उनीहरुले नजिकबाट देखेका र व्यवहार गरेका हुन्छन्। उनीहरुले जनावर पाल्दाको अनुभव अरु विद्यार्थीलाई सुनाउन सक्छन्। यसले अन्तरक्रिया गर्ने शैली विकास हुन्छ। विद्यार्थीलाई सिकाइप्रति रुचि पनि जाग्छ।
पूर्वप्राथमिक र प्राथमिक तह पढ्दाताका विद्यार्थीमा विज्ञान विषयप्रति रुचि जगाउन सके माथिल्लो तह छिचोल्न त्यति गाह्रो हुँदैन। विकसित मुलुकहरुमा भएका अध्ययन प्रतिवेदनहरुले यसलाई प्रमाणित गसिकेको छ। हाम्रोमा भने विज्ञान विषयसँग जोडिएको व्यावहारिक ज्ञानबारे सूक्ष्मरुपमा अध्ययनअनुसन्धान गर्न शिक्षा सरोकारवालहरु चुकेको देखिन्छ।
विज्ञान विषयको व्यावहारिक ज्ञानले विषय रुचिकर त हुन्छ नै यसलाई मानव जीवन र जगतसँग जोड्न सकिने हुँदा विद्यार्थीमा कौतूहल पनि जाग्छ। उनीहरु विषयविज्ञ तथा वैज्ञानिक बन्न सक्ने आधारस्तम्भ तयार हुन्छ। तर, विषयलाई रुचिकर बनाउन भने शिक्षकहरुले नै पहलकदमी लिन जरुरी छ।