ग्रामीण क्षेत्रबाट पनि लोप हुँदैछ सामा–चकेवा
तराई मधेशमा कात्तिक शुक्ल पक्षमा किशोरीहरूले मनाउने सामा–चकेवा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ। साँझको समयमा हरेक गाउँटोलमा गीत गाउँदै सामा चराउन हिँड्ने किशोरीहरूको दृश्य अब गाउँघरमा पनि दुर्लभ हुँदै गएकोमा संस्कृतिप्रति चासो राख्नेहरू चिन्ता व्यक्त गर्न थालेका छन्।
तराई मधेशको एउटा लोकसंस्कृति नै हराउन थालेकोमा सर्लाहीको मलंगवाका पूर्व स्रोत व्यक्ति तथा अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्र महतो कुशवाहा चिन्ता व्यक्त गर्दै स्थानीय तहले लोकसंस्कृतिलाई जोगाउन ध्यान नदिएकोमा दुःख व्यक्त गर्छन्।
रौतहटको बज्जिका साहित्य संगमका अध्यक्ष किशुनदयाल यादव सामा–चकेवासहित तराई मधेशको लोकसांस्कृतिक पहिचानका आधारहरू भत्किँदै जाँदा पनि स्थानीय सरकारहरूको ध्यान नजानु दुर्भाग्यपूर्ण अवस्था भएको बताउँछन्।
सामा–चकेवा तराई मधेशको लोकजीवनमा प्राचीनकालदेखि चल्दै आएको विशेष पर्व मानिन्छ। द्वापर युगमा श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फबाट जन्मेकी छोरी साम्बालाई लोकजीवनमा सामा भन्ने गरिएको र साम्बाको पतिको नाम चारुवाक भएकोले अपभ्रंश भएर लोकजीवनमा चकवा भनिन थालिएको प्रसंग पाइन्छ। कृष्णको श्रापले छोरी र ज्वाइँ चरा बन्न पुगेकोले सामा–चकेवा पर्व मान्नेहरूले चराको स्वरुपमा पूजा गर्ने गरेको विश्वास रहेको छ।
चराको स्वरुपबाट फेरि मानिस बन्न पुगेको गाथा रहेको सामा–चकेवा कात्तिक महिनाको शुक्ल पक्षमा किशोरीहरूले मनाउने लोकसंस्कृति हो। यो संस्कृति कुन दिनदेखि मान्ने भन्ने विषयमा मतभिन्नता देखिन्छ। कतिपय ठाउँमा भाइटीका (भैयादूज), कतिपय मान्यतामा कात्तिक शुक्ल पञ्चमी र कतिपय मान्यतामा कात्तिक शुक्ल सप्तमीदेखि सामा–चकेवा मनाउने गरिए पनि समापन भने कात्तिक शुक्ल पूर्णिमाकै दिन हुने गरेको छ।
हिन्दू धर्म मान्ने तराई मधेसका सबै समुदायको साझा लोकसंस्कृतिको रूपमा रहेको सामा–चकेवामा माटोको साना साना मूर्ति बनाई ढक्कीमा राखेर लोकगीतहरू गाउने चलन रहेको छ। पूर्णिमाको दिन सामा–चकेवाको विसर्जनलाई विशेष उत्साहका साथ लिने गरिन्छ।
ग्रामीण समुदायबाट समेत सामा–चकेवा हराउँदै गएकोमा बाराको सिम्रौनगढका रामेश्वर मेहता पनि चिन्ता व्यक्त गर्दै भन्छन्– "सामा–चकेवाजस्तो सभ्य लोकसांस्कृतिक सम्पदालाई जोगाउन ठोस कदम नचालिए छिटै हराएर जाने खतरा रहेको छ।"
सर्लाही, रौतहट तथा बारा जिल्लाको थारु समुदायमा केही हदसम्म जीवित रहेको सामा–चकेवा थारु समुदायबाट पनि हराउने चिन्ता रहेको छ। सामा–चकेवा विसर्जन हुने कात्तिक शुक्ल पूर्णिमाको रात थरुहटमा अझै पनि उत्सव मनाउने र मेला लगाउने चलन रहेको रौतहटको गुजरा नगरपालिकाका शिक्षक नरेन्द्र चौधरी बताउँछन्।