काठमाडौं ओर्लंदा यसरी स्वागत गरियो चिनियाँ रक्षामन्त्रीलाई (तस्वीरहरू)
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवे एकदिने भ्रमणका लागि नेपाल आएका छन्। आइतबार बिहान काठमाडौं आइपुगेका उनी आजै साँझ चीन फर्कनेछन्।
उनले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिए।
रक्षामन्त्री वेईलाई गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए।
उनी २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका हुन्। प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन्।
आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेई फेङ्गवेको यसरी स्वागत गरियो। हेरौं तस्वीरहरूः