काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने
कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ। संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरू भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय खुल्ने संकेत देखिएको छैन।
उपत्यकामा संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय सञ्चालन हुन केही समय लाग्न सक्ने उपत्यका मेयर फोरमको आकलन छ। भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन भएपनि औपचारिक रूपमा पठनपाठनका लागि अझै समय लाग्ने काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराईले बताए।
महानगरपालिका र उपत्यका मेयर फोरमले संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने निर्णय गरेको उनले बताए। सरकारले स्थानीय तहले विद्यालयहरूसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने बताएपनि उपत्यकाको हकमा तत्काल मिति तोक्न सकिने अवस्था नभएको उनको भनाइ छ।
कक्षा १२ को परीक्षा सम्पन्न भएपछि विद्यालय सञ्चालनको आधार तय हुने उनले उल्लेख गरे। ‘‘देशभित्र मात्रै नभएर बाहिरका मान्छेको जमघट पनि हुने भएकाले फुर्सदमा पछुताउनुभन्दा अलि ढिलै भएपनि व्यवस्थित ढंगले पठनपाठन सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने सोचमा महानगर छ। उपत्यका मेयर फोरम पनि संघीय सरकारसँग समन्वय गरेर अगाडी बढिरहेको छ’’, भट्टराईले भने।
चिसो मौसममा भाइरस बढी सक्रिय हुन सक्छ भन्ने आकलन भइरहेकाले पनि संक्रमण कम भएका स्थानीय तह वा वडाहरूबाट विस्तारै विद्यालय खोल्ने गरी अगाडि बढ्नुपर्ने उनले बताए।
गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा शुरू भएपछि विद्यार्थी र अभिभावकहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न र विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गएको पनि उनले बताए।
महामारीको समयमा आइपरेका ठूला चुनौतीकाबीच पनि परीक्षा सञ्चालन हुनु सकारात्मक पक्ष भएको भट्टराईको भनाइ छ।