बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्नः वामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले दिन नहुने बताएका छन्।
उनले बैठक बस्दा दुवै अध्यक्षको सहमति हुने भनिएपनि बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने बताएका छन्।
‘पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ’, आइतबार प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत् धारणा सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो।’
उनले नेकपाको सचिवालय बैठक बस्ने वातारण बनाउन मिहिनेत गर्ने सबैलाई धन्यवाद पनि भनेका छन्। गौतमले भनेका छन्, ‘पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरूको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्न छलफल गर्न शुरू गर्दासाथ पार्टीको पुनर्जीवन शुरू भइहाल्छ।’
बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रूपमा विचार राखेकोप्रति गौतमले धन्यवाद भनेका छन्।