चिनियाँ रक्षामन्त्री काठमाडौं आइपुगे
चिनियाँ रक्षामन्त्री वेई फङ्गवे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन्। उनी एकदिने भ्रमणका लागि नेपाल आएका हुन्। रक्षा मन्त्री फङ्गवे विशेष विमानबाट काठमाडौं आइपुगेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे। चिनियाँ रक्षामन्त्री वेई विमानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन्। त्यहाँबाट उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास जानेछन्।
वेई नेतृत्वको टोलीले करीब आठ घन्टा काठमाडौँमा बिताउनेछ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको पनि कार्यभार सम्हालेका छन्।
चिनियाँ रक्षामन्त्री फङ्गवे तथा प्रधानसेनापति पूर्णचन्द्र थापाबीच द्विपक्षीय वार्ता हुनेछ। उनले नेपाल भ्रमणको धेरै समय सैनिक मुख्यालयमा नै बिताउने छन्। परराष्ट्र मन्त्रालयले नेता वेईको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेको छ।
दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिंदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन भ्रमण उपयोगी हुनसक्ने जानकारहरू बताउँछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएको झण्डै एक वर्षपछि अर्को उच्चस्तरको भ्रमण हुन लागेको हो।
यसैसाता मात्र छिमेकी दुई देशबाट उच्चस्तरका भ्रमण भएका हुन्। बिहीबार भारतीय विदेश सचिवालय हर्षवर्द्धन श्रृंगला दुईदिने भ्रमणका लागि नेपाल आएका थिए।
दुई दिन नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरे। आफ्ना समकक्षी भरतराज पौड्यालसँग औपचारिक द्विपक्षीय वार्ता गरेका उनले नेपालमा सञ्चालित केही भारतीय सहयोग परियोजनाको अवलोकन पनि गरेका थिए।
भारतीय विदेश सचिव फर्किएलगत्तै भएको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले समेत संशयका साथ हेरिरहेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्।
चिनियाँ राष्ट्रपति चिनफिङले २०७६ असोजमा नेपालको भ्रमण गरेयता चीनबाट उच्चस्तरीय भ्रमण नभएको अवस्थामा चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी (आयोगका अध्यक्ष) पछिको वरियतामा रहेका फेङ्गवेको भ्रमणलाई लिएर भारत निकै सशंकित छ। किनभने भारतको चीनसँगको सीमा विवाद यतिबेला चुलीमा छ।
नेपालमा राजदूत रहिसकेका रञ्जित रायलगायतका भारतका पूर्वकूटनीतिज्ञहरूले त चीन र भारतबीच सीमालाई लिएर तनाव बढिरहेका बेला चिनियाँ रक्षामन्त्रीलाई बोलाएर नेपालले भारतको सुरक्षा संवेदनशीलताप्रति उदासीनता देखाएको सार्वजनिक टिप्पणी गरेका छन्।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षले निम्त्याएको संकटमा चिनियाँ सक्रियता देखेर भारत थप सशंकित छ। नेकपामा संकट देखापर्दा नेपालस्थित चिनियाँ राजदूतको सक्रियता दुई पटक देखिइसकेको छ। यसबाट थप सशंकित बनेको छ, भारत। दक्षिण एशियामा चिनियाँ प्रभाव घटाउन अमेरिका र भारत एउटै मञ्चमा आएपछि चीनले पनि आफ्नो उपस्थितिलाई मजबूत बनाउन लागेको, त्यसकै निम्ति चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुनलागेको उसको बुझाइ छ।
प्रधानमन्त्री ओलीले भारतीय विदेशसचिवमार्फत आफू भारतसँगको सम्बन्ध सुमधुर बनाएर अघि बढ्न चाहेको सन्देश पठाएको तर भारत त्यसमा विश्वस्त हुन नसकेको ती पूर्वकूटनीतिज्ञ बताउँछन्। “हामीले सम्बन्ध सुधारको पहल गरेकै बेला चिनियाँ रक्षामन्त्रीलाई किन बोलाइयो भन्ने भारतीयहरुको मुख्य प्रश्न छ” उनले भने, “उनीहरू त्यही उत्तर पाएपछि मात्र औपचारिक कदम चाल्ने मूडमा देखिन्छन्।”