शीर्षस्थानको लिभरपुल बराबरीमा रोकियो, बर्नलीको पोष्टमा म्यान सिटीको पाँच गोल
इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको लिभरपुल ब्राइटन एण्ड होभ एल्बियनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
खेलमा अग्रता भने लिभरपुलले लिएको थियो। ६०औँ मिनेटमा मोहमद सलाहले गोल गरेका थिए। तर ९०औँ मिनेटमा एल्बियनले पेनाल्टीको अवसर पायो। तयसलाई गोलमा परिणत गर्दै पास्कल ग्रोसले एल्बियनलाई घरेलु मैदानमा हारबाट जोगाए।
यो खेलपछि लिभरपुलको १० खेलबाट २१ अंक छ। नौ खेल मात्र खेलेका टोटेनहम हट्स्परको २० तथा चेल्सी र लेस्टर सिटीको समान १८ अंक छ।
अर्को खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नलीलाई ५-० गोलले पराजित गरेको छ। सिटीका लागि रियाद महरेजले ह्याट्रिक गरे। त्यसबाहेक बेन्जामिन मेन्डी र फेरान टोरेसले पनि गोल गरे।
सिटी नौ खेलबाट १५ अंकसहित आठौँ स्थानमा छ। बर्नली भने उति नै खेलबाट पाँच अंकसहित रेलिगेसन जोनमा छ।