बन्दाबन्दीपछि फस्टाउँदै अनलाइन व्यापार, वाणिज्य मन्त्रालय कानूनको तयारीमा
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीपछि अनलाइन व्यापार बढ्दै गएको छ। व्यापारको क्षेत्र विस्तारसँग यसलाई नियमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कानून बनाउन तयारी थालेको जनाएको छ।
प्रविधिमा पहुँच र सहजै घरैमा सामान पुग्ने हुनाले अनलाइन व्यापार बढेको सरोकारवालाहरुले बताएका छन्। २० वर्ष अघि डिजिटल बजारको अवधारणा आए पनि पछिल्लो १० वर्षदेखि अनलाइन व्यापार विस्तार हुँदै गएको व्यवसायीहरुले बताएका छन्। ब्राण्डवर्थ प्रालिले आयोजना गरेको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’मा सहभागी सरोकारवालाहरुले बन्दाबन्दीपछि यसको क्षेत्र विस्तार हुँदै गएकाले नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्।
सस्तो डिलका सञ्चालक अमन थापा वार्षिक १५० प्रतिशतका दरले अनलाइन व्यापार बढ्दै गएको बताउँछन्। १० वर्षअघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भए पनि अहिले मुलुकभर इन्टरनेट पहुँच बढ्दै गएकाले अनलाइन व्यापार पनि फस्टाएको उनको भनाइ छ। “अहिले स्मार्ट फोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाइन व्यापार विस्तार भएको हो। यसलाई प्रविधिको विस्तारले सहयोग पुगेको छ। तर, अनलाइन पेमेन्ट प्रणालीजटिल भएकाले सहजीकरण गर्न अति आवश्यक छ”, उनले भने।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डले अनलाइन व्यवस्थित र नियमन गर्नका लागि कानून बनाउन लागिएको जानकारी दिए। विभिन्न क्षेत्रगत कानूनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि विधेयक तयारी गर्न छलफल भइरहेको उनले बताए। नेशनल पेमेन्ट गेटवे नहुँदा विदेशबाट अनलाइन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाइ छ।
मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता वृद्धि गरी अनलाइनमार्फत व्यापार गर्न चुनौती रहेको उनले बताए। नगद भुक्तानी प्रणालीलाई डिजिटल कारोबारमा ट्रान्सफर गर्ने सरकारको योजना रहेकाले यसलाई नीतिगत तरवरमा संरक्षण गर्न लागिएको जानकारी पनि दिए।
फुडमान्डुका सञ्चालक मनोहर अधिकारीले सुरुमा ग्राहकलाई अनलाइन व्यापारबारे बुझाउन धेरै समय लागे पनि पछिल्लो समय प्रयोगकर्ता बढेको बताए। अनलाइन व्यापार शहरी क्षेत्रमा लोकप्रिय बन्दै गएकाले गाउँसम्म विस्तार गर्न धेरै नै समस्या रहेको उनको भनाइ छ।
अर्बन गल्र्सकी सहसञ्चालक निकिता आचार्यले उपत्यकामा मात्र नभएर पोखरा लगायतका अन्य शहरमा पनि अनलाइन व्यापारप्रति युवाको आकर्षण बढ्दै गएको बताइन्।