झन्डै दुई साता लामो कात्तिक नाच दुई दिनमै सम्पन्न
ललितपुरमा हरेक वर्ष करीब दुई साता मनाइने कात्तिक नाच दुई दिन मनाएर शनिबार नै सम्पन्न गरिएको छ। कात्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कात्तिक नाच सम्पन्न गरिएको हो।
गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यो वर्ष विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार र शनिबार मात्र प्रदर्शन भयो। विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको वध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन्। त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बताए।
यसैगरी शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो। सो नाच संरक्षणका लागि यस वर्षदेखि अक्षयकोष स्थापना गरिने भएको छ।
शनिबार नृत्यकला हेर्न इच्छुक व्यक्तिले विद्युतीय प्रत्यक्ष प्रसारणको सहायता लिए। सो नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ।
१६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ। कात्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।
मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले २०७० सालमा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरु बताउँछन्।