देशभर विद्यार्थी भर्ना अभियान शुरु
विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन सरकाले देशभर भर्ना अभियान शुरु गरेको छ ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ २ वैशाखदेखि विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।
संघिय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वानमा ७५३ स्थानीय तहमार्फत अभियान शुरु गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका निर्देशक गेहनाथ शर्माले जानकारी दिए ।
शिक्षाको अधिकार स्थानीय तहमा गइसकेकोले यस वर्षदेखि सरकारले तय गरेको नारामा आधारित रहेर प्रत्येक स्थानीय तहले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेछन् ।
यस वर्ष विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई विद्यालय भर्ना गरिने सरकारको लक्ष्य छ ।
पाँचदेखि नौ वर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएको सरकारी तथ्यांक छ ।
भर्ना अभियानअन्तर्गत वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान र त्यसपछि घरदैलो अभियान सञ्चालन गरिने केन्द्रका निर्देशक शर्माले जानकारी दिए ।