सचिवालय बैठकमा ओलीले भने- ‘पार्टी फुटको दिशातिर गयो भनेर सोच्न मिल्दैन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको दिशातिर गयो भनेर सोच्न नमिल्ने बताएका छन्। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा उनले पार्टी फुटको कल्पना गर्न नसकिने बताएका हुन्।
उनीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि पार्टीभित्र हुने बहस र छलफलले फुटतिर गयो भन्न नमिल्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
“उहाँहरूले छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर गयो भनेर सोच्न मिल्दैन, पार्टी एकताको रक्षा र सुदृढिकरणका लागि अहिले बहसलाई सदुपयोग गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ”, प्रवक्ता श्रेष्ठले भने।
खामबन्दी गरेर सचिवालय सदस्यलाई दिइयो ‘ओलीको जवाफ’
नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्वावमाथिको जवाफ दिएका छन्।
गएको २८ कात्तिकमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले एकल राजनीतिक प्रस्ताव परेका गरेका थिए। जसमा ओलीले पार्टी र सरकार चलाउन नसकेको, भ्रष्टाचार बढेको जस्ता विषय उल्लेख गर्दै ओलीले अब त्याग गर्ने बेला आएका उल्लेख थियो।
त्यसपछि ३ मंसिरमा बसेको सचिवालय बैठकमा ओलीले जवाफी प्रतिवेदन लेखनका लागि १० दिनको समय मागेका थिए। जसअनुसार शनिबार सचिवालय बैठकमा ओलीले आफ्नो प्रस्ताव पेश गरेका हुन्।
ओलीको प्रस्ताव खामबन्दी गरेर सबै सचिवालय सदस्यलाई उपलब्ध गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ओलीको प्रस्ताव अध्ययनपछि अब दुवै अध्यक्षका प्रस्तावमाथि १६ मंसिरमा बस्ने सचिवालय बैठकमा छलफल हुने उनले बताए।
१६ मंसिरमा सचिवालयको बैठक नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। नेकपाले यसअघि नै १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक तय गरिसकेको छ।