ओलीले लिखित जवाफ पेश गरेपछि सकियो नेकपाको सचिवालय बैठक, अर्को बैठक १६ मंसीरमा धुम्बाराहीमा बस्ने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेसँगै आजका लागि सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपको लिखित जवाफ पढेर सुनाएका थिए।
ओलीले आफ्नो जवाफ राख्दै पार्टी फुटका विषयमा अहिले कसैले सोच्न नहुने धारणा राखेका थिए। साथै उनले आफूले तयार पारेको लिखित जवाफलाई खाममा राखेर सचिवालय सदस्यहरूलाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
अर्को बैठक १६ मंसीरमा दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ। पार्टी प्रवक्ता श्रेष्ठका अनुसार अब दुवै प्रतिवेदनमाथि छलफल हुने भएको छ। आजको बैठकमा ओली, दाहालसहित सचिवालयका चार जना नेताले आफ्नो धारणा राखेको बताइएको छ।
“उहाँहरूले छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर गयो भनेर सोच्न मिल्दैन, पार्टी एकताको रक्षा र सुदृढीकरणका लागि अहिले बहसलाई सदुपयोग गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ”, प्रवक्ता श्रेष्ठले भने।
१६ मंसीरमा छलफल नसकिए १७ मंसीरमा फेरि सचिवालय बैठक बस्न सकिने श्रेष्ठले बताए। उनका अनुसार त्यसपछि १८ मंसीरमा तोकिएको स्थायी कमिटी र २५ मंसीरमा बस्ने केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुनेछ।
पार्टी कमिटीका बैठकहरूमा दुवै प्रस्तावमाथि छलफल गरेर उचित निष्कर्ष निकालिने प्रवक्ता श्रेष्ठले बताए। उनले दाहालको प्रस्ताव कार्यकर्ताको हातसम्म पुग्नुले पार्टीभित्रको बहसमा सकारात्मक योगदान पुग्ने पनि दाबी गरे। “पार्टीभित्र हुने बहसलाई हामी स्वाभाविक र सहज रुपमा लिन्छौं”, प्रवक्ता श्रेष्ठले भने।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेश गरेका हुन्। अध्यक्ष दाहालले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए ।