सामाजिक सञ्जाल, जहाँ फरक मतलाई निषेध छ !
अभिव्यक्ति स्वतन्त्रताका उच्चतम् डिजिटल मञ्च बनेका सामाजिक सञ्जाल पछिल्लो समय फरक विचारलाई सिध्याउने अस्त्र बनेका छन्। कतै यसले हाम्रो लोकतान्त्रिक अभ्यास र आचारव्यवहारमै त प्रहार गरिरहेको छैन ?
यतिबेला डिजिटल युगको हरेक मान्छेलाई हेर्दा लाग्छ ऊ सम्भावित ‘अनाम मान्छे’ हो जसको परिचय छ पनि, छैन पनि।
अब उसले आफ्नो नाम, थर, अनुहार, ठेगाना केही खुलाउनुपर्दैन। किनकि ऊ डिजिटल युगको मान्छे हो।
ऊ यति शक्तिशाली भएको छ कि अरू कसैको अनुहार चोरेरै ऊ खुलेआम विश्व डुल्न सक्छ। कसैको नाम चोरेर अरूको गोप्य सूचनामा डकैती डाल्न सक्छ। आक्रमण गर्न सक्छ।
कसैको स्वतन्त्रता चोरेर आफू स्वतन्त्र हुनसक्छ; हुन खोज्छ।
होइन भने प्रतिक्रिया व्यक्त गर्ने वा विरोध जनाउने नाममा अभिनेत्री दीपाश्री निरौलालाई युट्युबका भित्ताहरूमा ‘बलात्कार गर्छु’, ‘गोली ठोकिदिन्छु’ भन्ने व्यक्ति कहाँबाट आइपुग्यो ? कहाँबाट आयो र कहाँ गयो ? कसैले पत्तै पाएन। किनकि ऊ त डिजिटल युगको ‘अनाम मान्छे’ थियो।
‘राजेश हमाल नेपाली फिल्म उद्योगका महानायक होइनन्’ भन्ने अन्तर्वार्ता प्रसारणपछि दीपाश्रीमाथि भएको डिजिटल आक्रमण कुनै पनि दृष्टिमा सभ्य थिएन। फरक मत राखेकै कारण कोही कसैलाई कसैले पनि यो हदसम्मको भद्दा व्यक्तिगत टिप्पणी गर्न पाउँदैन।
‘राजेश हमाल नेपाली फिल्म उद्योगका महानायक होइनन्’ भन्ने अन्तर्वार्ता प्रसारणपछि दीपाश्रीमाथि भएको डिजिटल आक्रमण कुनै पनि दृष्टिमा सभ्य थिएन। फरक मत राखेकै कारण कोही कसैलाई कसैले पनि यो हदसम्मको भद्दा व्यक्तिगत टिप्पणी गर्न पाउँदैन।
बहसकै विरोधी
को किन महानायक ? आदिकवि ? महाकवि ? राष्ट्रकवि ? राष्ट्रिय विभूति ? कसले दिन्छ यस्तो पद्वी, अलंकार ? यसबारे नेपाली समाजमा बहस नयाँ होइन। त्यसैले पनि ‘महानायक’ को सन्दर्भमा आफ्नो राय जो कसैले राख्न पाउँछ। यो बहस आफैंमा लोकतन्त्रको सुन्दर नमूना हो।
तर किन हाम्रो समाजकै एक जमात फरक मतलाई सुन्न र सम्मान गर्न सकिरहेका छैनौं त ?
बहसको विमानस्थलबाट केहीक्षण पाँच महीनाअघिको लिपुलेक प्रकरणताका अवतरण गर्ने हो भने एउटा यस्तै असहिष्णु दृश्य देखिन्छ, जहाँ कलाकार वर्षा राउतको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा यस्तै अप्रासंगिक र तल्लोस्तरका प्रतिक्रिया वर्षाइएको थियो।
“चाहे जुनसुकै माध्यमबाट होस्, हामीले हाम्रो लोकतान्त्रिक चेत नै प्रस्फुटित गर्ने हो। यतिबेला भने अहिले सामाजिक सञ्जालमा हाम्रो उपस्थिति र अभिव्यक्ति हाम्रो समाजको दृष्टान्त बनिरहेको छ।” - हरि शर्मा, राजनीतिक विश्लेषक
देशको माया लाग्छ भन्दैमा किन यसो गरेको भनेर झगडा गर्ने विषय होइन नि यो, यो त टेबलटक गरेर भारत सरकार र नेपाल सरकार बीच द्विपक्षीय वार्ताले सुल्झिने कुरा न हो– वर्षाले स्वतस्फूर्त एक अन्तर्वार्तामा यसो भनेकी थिइन्।
तर उनको टिप्पणीलाई लिएर देशद्रोहीसम्मको संज्ञा दिंदै सामाजिक सञ्जाल तथा युट्युबमा भर्चुअल भीड उर्लियो। उनीप्रति अनगिन्ती गालीगलौजका अपशब्द वर्षा गरियो। अन्ततः उनलाई रुँदै मिडियामा माफी माग्न बाध्य बनाइयो। ‘मैले झुन्डिएर कालापानी लिपुलेक फिर्ता आउँछ भने म झुन्डिन तयार छु। कृपया, म देशद्रोही होइन’ उनले आफ्नो देशभक्तिको प्रमाण यसरी प्रस्तुत गर्नुपर्यो।
रोचक चाहिं के छ भने, गएको दशैंमा देशवासीलाई शुभकामना दिने र सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको लोगोयुक्त शुभकामना टेम्प्लेटमा एकाएक लिपुलेक बिलाउँदा त्यो भर्चुअल भीड कहाँ गयो ?
प्रवृत्ति नभई पात्र केन्द्रित भर्चुअल भीडले कुनै विशेष मुद्दालाई उचाल्ने र कुनैलाई छायाँमा पार्नुको तात्पर्य आखिर के हुनसक्छ ?
एकातिर लोकतन्त्रकै कारण उपलब्ध यस्ता सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको चरम दुरुपयोग अनि लोकतन्त्रकै धज्जी उडाउने गरी फरक मतप्रति असहिष्णु ‘सोसल मिडिया स्फेयर’, विरोधाभास प्रष्ट छ। लोकतन्त्रमै लोकतन्त्रको मूल्यमान्यता विपरीत यस्ता हर्कतहरूले हाम्रो सैद्धान्तिक धरातल र कार्यशैली बीचको खाडल छर्लङ्ग देखाइदिएको छ।
राजनीतिक विश्लेषक एवम् चिन्तक हरि शर्माको भनाइमा हिजोसम्म सीमित मिडियामा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरिरहेका हामीमा अहिले ‘न्यू मिडिया’मा आइपुग्दा जवाफदेहिता देखाउनै नपर्ने डरलाग्दो परिपाटी विकास भएको छ। उनी फरक मतप्रति असहिष्णु पछिल्ला घटनाक्रमहरूले समाजमा उदारता, स्वतन्त्रता र अर्काको अधिकारका विषयमा बुझाइमा कमी भएको प्रमाणित गरेको बताउँछन्।
गएको असोजमा बलात्कार विरुद्ध भएको सडक अभियानको प्रतिक्रियास्वरुप एक समूहले ‘हामी नै हो बलात्कारी’ नामक ‘फेसबुक ग्रुप’ नै बनाउन भ्यायो। जसमा संलग्न केहीलाई प्रहरीले पक्राउ पनि गर्यो।
हुन त यो बहस नेपालमा मात्र छैन, पूरै दक्षिणएशिया नै डिजिटल आक्रमणको यो रोगबाट ग्रसित छ। गएको असोजकै अन्तिम साता इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताका क्रममा महेन्द्रसिंह धोनीले राम्रो नखेलेको भन्दै सामाजिक सञ्जालमा उनकी पाँच वर्षीया छोरीलाई बलात्कार गर्नेसम्मको धम्की दिए। प्रहरीले धम्की दिने गुजरातका १६ वर्षीय किशोरलाई पक्राउ पनि गर्याे।
‘फ्रि स्पिच भर्सेज हेट स्पिच’
अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणा र द्वेष फैलाउने जमातको सक्रियता बढेसँगै समाजमा भय सिर्जना हुन थालेको छ। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीका विचारमा सहमत या असहमत हुने स्वतन्त्रता लोकतन्त्रमा सबैलाई भए पनि गालीगलौजमा उत्रने छुट भने कसैलाई पनि हुँदैन। “हिंसा र घृणाको वकालत नगर्ने जुनसुकै फरक मतलाई पनि हामीले आदारपूर्वक हेर्नुपर्छ”, अधिकारी भन्छन्।
“आलोचना लोकतान्त्रिक चेत देखाउने एउटा आधार हो भने घृणा समाज र समुदायको चेतनामाथिको अवाञ्छित हमला।” - शिव गाउँले, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले आलोचना र घृणा बीच स्पष्ट अन्तर भएको बताउँछन्। उनी भन्छन्, “आलोचना लोकतान्त्रिक चेत देखाउने एउटा आधार हो भने घृणा समाज र समुदायको चेतनामाथिको अवाञ्छित हमला।”
कतै ‘फ्रि स्पिच’को नाममा मौलाएको ‘हेट स्पिच’ले हाम्रो बहसमा बिर्को लगाइदिएको त होइन ?
सत्य के हो भने ‘डिजिटल डेमोक्रेसी’को यो समयमा हामी आफूलाई कित्ताकाट गरिरहेका छौं। कसैलाई देवत्व र कसैलाई दानवीकरण गरिरहेका छौं। अतिवादको शिकार भई आज कसैलाई भाइरल बनाइरहेका छौं त कसैको उछित्तो काढिरहेका छौं। सजायस्वरुप पात्र विशेषलाई बहिष्कार गरिदिन्छौं। डिजिटल कुलतले अर्काको पीडामा रमाउने अनौठो समस्या हामीमा विकसित गरिदिएको छ।
‘डिजिटल इज किलिङ डेमोक्रेसी’ भन्ने कथन व्यापक भइरहँदा हामीले पनि कतै यसैलाई अवलम्बन त गरिरहेका छैनौं ? हामी किन ‘डिजिटल’ बढी र ‘डेमोक्र्याटिक’ कम भइरहेका छौं ?
राजनीतिक विश्लेषक शर्मा भने डिजिटल प्रविधिलाई नै सम्पूर्ण दोष लगाउन नमिल्ने बताउँछन्। ‘प्रविधि त केवल साधन मात्र हो” शर्मा भन्छन्, “चाहे जुनसुकै माध्यमबाट होस्, हामीले हाम्रो लोकतान्त्रिक चेत नै प्रस्फुटित गर्ने हो। यतिबेला भने अहिले सामाजिक सञ्जालमा हाम्रो उपस्थिति र अभिव्यक्ति हाम्रो समाजको दृष्टान्त बनिरहेको छ।”
फरक मत लोकतन्त्रको सौन्दर्य हो। तर, यही फरक मतलाई विरोधी वा शत्रुतापूर्ण हिसाबले व्यवहार गर्दा मौन (कल्चर अफ साइलेन्स)लाई टेको पुगेको महिला अधिकारकर्मी सरु जोशी बताउँछिन्। “फरक र वैकल्पिक मतलाई सम्मान गर्न नसक्ने संस्कार हाम्रो घरपरिवार, विद्यालय, विश्वविद्यालयदेखि कार्यालयसम्म देखिन्छ। त्यसैको दृष्टान्त सामाजिक सञ्जालमा पनि छचल्किएको हो”, जोशी भन्छिन्।
“फरक र वैकल्पिक मतलाई सम्मान गर्न नसक्ने संस्कार हाम्रो घरपरिवार, विद्यालय, विश्वविद्यालयदेखि कार्यालयसम्म देखिन्छ। त्यसैको दृष्टान्त सामाजिक सञ्जालमा पनि छचल्किएको हो।” - सरु जाेशी, महिला अधिकारकर्मी
सामाजिक सञ्जालमा यस्तो संस्कारले कतिपय आवश्यक मुद्दाहरू पनि छायाँमा परेको जोशीको अनुभव छ। “तर नबोल्दा लोकतान्त्रिक अभ्यासको धरोहर नै कमजोर हुने खतरा पनि छ”, उनको भनाइ छ।
समभाव र सहभावमा आधारित खुला संवादबाट विचार निर्माण गरिनुको साटो हामी यतिबेला कित्ताकाटमा लागेका छौं। कालो कि सेतोको पक्षधरमा लागेका छौं, जबकि स्वस्थ समाजमा यी दुवैको रंग मिश्रित हुन्छ अर्थात् समाज खैरो हुन्छ।
पत्रकार शिव गाउँले ठीक यहीबेला सामाजिक सञ्जालको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता देख्छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताको आचारसंहिता या स्वविवेक, अनुशासन बारे छलफल हुन ढिलो भइसकेको बताउँदै उनी भन्छन्, “तथ्य र तर्क सकिएपछि खराब नियतले उत्रने जमातविरुद्ध कानूनी उपचार खोजिनुपर्छ। डिजिटल लोकतन्त्रलाई एकाधिकारको बाटोमा हिंडाउन खोज्ने प्रयास मान्य हुनुहुँदैन।”
त्यसैले आउनुहोस्, बहसको विमानस्थलमा ओर्लिएर सामाजिक सञ्जालको प्रयोगबारे बहस गरौं, सामाजिक सञ्जालमा तपाई, हाम्रो उपस्थिति र आचरणको ‘लेखा परीक्षण’ गरौं !