इरानका वरिष्ठ परमाणु वैज्ञानिक फख्रिजादेहको हत्या, इजरायलमाथि आरोप लगाउँदै बदला लिने चेतावनी
इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको राजधानी तेहरान नजिकैको शहर अबसार्डमा हत्या भएको छ।
उनी सवार कारमाथि बम र बन्दुकबाट हमला भएलगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो। तर, अस्पतालले केही बेरमा नै मृत घोषित गरेको थियो। इरानले हत्यामा इजरायलको हात भएको आरोप लगाएको छ।
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले फख्रिजादेहको हत्याको भत्र्सना गर्दै यसलाई ‘राज्य प्रायोजित आतंकको घटना’ भएको बताएका छन्। पश्चिमी देशका गुप्तचर निकायहरु इरानको गोप्य परमाणु हतियार कार्यक्रमका पछाडि फख्रिजादेहको हात भएको मान्छन्।
बीबीसीका अनुसार एक पश्चिमी कुटनीतिज्ञले समाचार एजेन्सी रोयटर्ससँग सन् २०१४ मा यदि इरानले हतियार उत्पादनमा जोड दियो भने फख्रिजादेह ‘परमाणु बमका पिता’ हुने प्रतिक्रिया दिएका थिए। तर, इरानले भने आफ्नो आणबिक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ।
इरानका परमाणु वैज्ञानिकलाई लक्ष गरी पटकपटक हमला हुने गरेको छ। यसअघि सन् २०१० देखि २०१२ सम्ममा चार जना इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो। यसका लागि इरानले इजरायललाई जिम्मेवार ठहराएको थियो।
इरानको रक्षा मन्त्रालयका अनुसार हतियारसहितका ‘आतंकवादी’ले फख्रिजादेह चढेको कारमाथि आक्रमण गरेका थिए। उनका अंगरक्षक र आक्रमणकारीबीच केहीबेर झडप भएको थियो। त्यस क्रममा पख्रिजादेह गम्भीर घाइते भएका थिए।
उनको गाडीमाथि पहिला बम प्रहार गरिएको थियो। त्यसपछि मेसिनगनबाट गोली प्रहार भएको आवाज आएको इरानी समाचार समिति फारसलाई उधृत गर्दै बीबीसीले जनाएको छ। तीनदेखि चार आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ।
इरानी सेनाको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स (आईआरजीसी) ले आफ्ना वैज्ञानिकको हत्याको बदला लिने चेतावनी दिएको छ। आईआरजीसीका मेजर जनरल हुसैन सलामीले भनेका छन्, “परमाणु वैज्ञानिकको हत्या गरेर हामीलाई आधुनिक विज्ञानसम्म पुग्नबाट रोक्ने कोशिस भइरहेको छ।”