क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण भएको छ।
लामिछानेले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका हुन्। उनलाई सामान्य लक्षणसहितको संक्रमण भएको छ। बुधबारदेखि शरीरमा केही पीडा भएको उनले उल्लेख गरेका छन्।
लामिछानेले आफू केही ठीक हुँदै गएको पनि जनाएका छन्। उनले लेखेका छन्, “यदी सबै ठीक भयो भने म फेरि मैदानमा उत्रिनेछु। मेरा लागि प्राथना गरिदिनुहोस्।”
यसअघि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका थिए। त्यहाँबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दुबई गएका उनी त्यहाँबाट फर्किएपछि चितवनस्थित घरैमा आराम गरिरहेका थिए। उनी आगामी डिसेम्बरदेखि अष्ट्रेलियामा हुने बिग ब्यास खेल्न जाने तयारीमा छन्। उनी डिसेम्बर दोस्रो साता मात्र त्यता जाने तयारी छ।
यसअघि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण ११ मंसीरदेखि शुरु भए पनि उनले सहभागिता जनाएका थिएनन्। ९ मंसीरमा क्यानले टीयू मैदानमा गरेको खेलाडीको स्वाब संकलनको दिन उनी चितवनमै थिए। उनले आफू ढिला गरी मात्र प्रशिक्षणमा सहभागी हुने क्यानलाई जानकारी गराएको बताइएको थियो।