परदेशमा ज्यान गयो, पदक पनि उतै रह्यो
बेलायती सेनाका तर्फबाट प्रथम विश्वयुद्ध लड्न बेल्जियमको इप्र शहर पुगेका थुप्रै गोर्खाली सैनिकले उतै ज्यान गुमाए। आफन्तले शव त कहाँ हो कहाँ, बेलायती सरकारले दिएको पदक समेत पाएनन्।
२८ जुलाई, १९१४ देखि पहिलो विश्वयुद्ध शुरू भयो। यो युद्ध लड्न पहिलो पटक इष्ट इण्डिया कम्पनीमा कार्यरत गोर्खाली सेना पहिलो पटक यूरोप टेकेको थियो।
१९ अक्टोबरदेखि बेलायती सेना र जर्मन सेनाबीच बेल्जियमको इप्रमा युद्ध थालियो। युद्धको ११औं दिन ३० अक्टोबरमा अन्य थुप्रै सैनिकसँगै जर्मन सेनाबाट गोर्खा सैनिक दलबहादुर गुरुङ पनि मारिए।
इप्रमा भएको पहिलो चरणको यो लडाइँ २२ नोभेम्बरमा सकियो, जसमा करीब दुई लाख ५० हजारको ज्यान गएको बताइन्छ।
यिनैमध्येका थिए, दलबहादुर, जसको निधनमा बेलायत सरकारले युद्ध सम्मान पदक (प्लाक) प्रदान गरेको थियो। सम्मान पदकमा लेखिएको छ– हि डाइड फर फ्रिडम एण्ड अनर। तर, युद्ध समाप्तिपछि सम्बन्धित परिवारलाई प्रदान गर्न बेलायतले सम्झिएका यी गोर्खा सैनिकको प्लाक नेपालस्थित उनको गाउँ पुग्न पाएन।
अहिले यो सम्मान पदक घुम्दैफिर्दै बेलायतका हेम पुनको हातमा आइपुगेको छ। पुनले बेलायतका विभिन्न व्यक्तिमार्फत यी पदक फेला पारेका हुन्। पर्वत घर भएका हेम गोर्खा मेजर छन्दराज पुनका छोरा हुन्।
ठेगानामा अलमल
को हुन् त पदकमा लेखिएका दलबहादुर गुरुङ ? अलमल यसैमा छ। किनभने, ३० अक्टुबर १९१४, शुक्रबार दलबहादुर गुरुङ नामका एकै पद र एउटै रेजिमेन्टका दुई राइफलम्यान मारिएका थिए। “पदकमा सर्भिस नम्बर लेखिएको भए यसकै आधारमा तथ्य पत्ता लगाउन सहज हुन्थ्यो। यत्तिकै यसै भन्नु गाह्रो छ”, हेम भन्छन्।
इप्रमा मारिएका एक राइफलम्यान दलबहादुर ‘आठौं गोर्खा राइफल्स’मा आवद्ध थिए। उनका बाबुको नाम मनविर गुरुङ र ठेगाना गैरीढुंगा, पाल्पा, गुल्मी नेपाल लेखिएको छ। अर्का राइफलम्यान दलबहादुर गुरुङको बाबुको नाम विराज गुरुङ हो भने ठेगाना मजुवा, पश्चिम नेपाल २, लमजुङ उल्लेख छ।
दुवैको समाधि हाल फ्रान्सको नोभो सपिलमा मेमोरियलमा राखिएको छ।
यस्तै युद्ध पदक प्रदान गरिएका अर्का सैनिक परताब पुनको पनि थप विवरण फेला परेको छैन।
इप्रकै लडाइँमा परताबसँग मिल्दो प्रताप नामका अर्का सैनिक पनि थिए। तर, उनी गुरुङ नभई रोका हुन्। पुगा, दैलेख घर भएका मेखसिंह रोकाका छोरा प्रतापको समाधि भने हाल इजरायलको रमल्लाहमा छ। आठौं गोर्खा राइफल्सका प्रताप भने २४ सेप्टेम्बर १९१८ मा मारिएका थिए।
अनलाइनमा उपलब्ध विभिन्न जानकारीका अनुसार, प्रथम विश्वयुद्धपछि बेलायतले १३ लाख ५५ हजार मृतक सैनिकका आफन्तलाई यस्तो पदक बाँडेको थियो। पदकसँगै तत्कालीन बेलायती राजा जर्ज फ्रेडरिक अर्नेष्ट अल्बर्टको सही भएको पत्र पनि पठाइन्थ्यो जसमा लेखिएको हुन्थ्यो ‘आइ ज्वाइन विथ माई ग्रेटफुल पिपल इन सेन्डिङ यु दिस मेमोरियल अफ अ ब्रेभ लाइफ गिभन फर अदर्स इन द ग्रेट वार’ लेखिएको हुन्थ्यो।
यी पदकहरू बेलायतको वुलिचस्थित रोयल आर्सेनल एण्ड मिलिटरी ल्याबरोटरीमा बनेका हुन्। सन् १८५० मा जंगबहादुर राणा नेपालका राजा सुरेन्द्रविक्रम शाहको प्रतिनिधि भएर बेलायत जाँदा उक्त आर्सनलमा तीन पटक भ्रमण गरेका थिए। उतिबेला उक्त आर्सनलमा बुलेटका लागि क्याप बनाउने र तोप ढाल्ने काम हुन्थ्यो।
पहिलो विश्वयुद्धका दस्तावेजहरू समेटिएको अस्ट्रिटनियरयू डट ओआरजीका अनुसार, इप्रमा ३० अक्टोबरमा मारिने ‘आठौं गोर्खा रेजिमेन्ट’ का अन्य सैनिकहरूमा राइफलम्यान छविलाल थापा (ठेगानामा कुन्तीको लोग्ने पाल्पा लेखिएको), कुलबहादुर गुरुङ (आइतीको लोग्ने, थप्रिक पाल्पा), मनिराम थापा (बचाखाना, पाल्पा भन्ने ठाउँको वनविरको छोरो), हस्त गुरुङ (चनमतीको छोरो, बाँसखर्क, पाल्पा–पर्वत), सतवीर पुन (दोन्ते पुनको छोरो, पाल्पा– पर्वत), हवल्दार रामबहादुर थापा (इन्द्रवीरको छोरो, घुमा, पाल्पा), कृष्ण गुरुङ (सुवराज थापाको छोरो, पुङदु, पाल्पा), कशिराम थापा (कुलबहादुरको छोरो, लिंघा, पाल्पा), महलसिंह पुन (दलभक्तको छोरा, ब्रिञ्जा, पाल्पा), हवल्दार रणबहादुर थापा (प्रताप थापाको छोरो, चिनखोला, पाल्पा), नायक सहविर पुन (हर्कबहादुरको छोरो, रिघा, वल्लो नुवाकोट, पाल्पा), आदि थिए।
‘एक पाइला, ४० शव’
इप्रमा ब्रिटिश र फ्रेञ्च मिलेर जर्मनी विरुद्ध लडेका थिए। आधुनिक विश्वमा भएको लडाइँमध्ये एकै पटक धेरै मानिस मारिएका ठाउँमध्ये इप्र पनि पर्दछ। विभिन्न चरण गरी १९ अक्टोबर १९१४ देखि २ अक्टोबर १९१८ चार वर्षसम्म भएको युद्धमा ब्रिटिश गठबन्धनका करीब साढे चार लाख र जर्मनी तर्फ चार लाख तीस हजार गरी करीब ८ लाख ८० हजार मानिस मारिएको अनुमान गरिन्छ।
सन् २०१९ को मे २९ देखि २ जूनसम्म बेल्जियमको इप्र भ्रमणपछि पूर्व बेलायती सैनिक विश्वासदीप तिगेलाले एउटा ब्लग लेखेका छन्। विश्वास डटकम डट एपी मा लेखिएको ब्लगमा उनले पहिलो विश्वयुद्धमा जर्मनीको आक्रमण बेलायती माटोमा आई नपुगोस् भन्ने इरादाले बेलायती साम्राज्यले आफ्नो भूमि भन्दा टाढै पुगेर इप्रमा लडेको थियो। युद्धमा प्रयोग गरिएका बंकरहरू अझै पनि सुरक्षित छन्।
युद्धमा बेलायती गठबन्धनका सेना दुश्मन पक्षको गोलीले त मरे नै, दर्केपानी र हुरीबतासले पनि धेरैको ज्यान लिएको थियो। ब्लगमा तिगेलाले इप्रमा एक पाइला टेक्दा ४० जनाको लास टेकिने लेखेका छन्।
क्षेत्रफल सानो तर मारिनेको संख्या धेरै भएकोले पनि इप्रको चर्चा विश्वभर छ। धेरै मानिस मारिएको विश्वका युद्धहरूमध्ये सातौंमा पर्ने इप्रको युद्ध इतिहास कथा झंै लाग्छ।
इप्र शहरको मुख्य भागमा एक विशाल प्रवेशद्वार निर्माण गरिएको छ। गेटको भित्तामा बेलायती भारतीय गुर्खामध्ये १८ गुरुङ र ६ मगरहरूको नामावली भारतीय समकक्षीहरूसँगै लेखिएको छ।