प्रथम अन्नपूर्ण आरोही हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण
विश्वमै पहिलोपटक अन्नपूर्ण हिमालका सफल आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण गरिएकाे छ ।
हर्जोगले आरोहण गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रंस्वा जाविये लेजेले शुक्रबार गण्डकी प्रदेशका उद्योग पर्टन तथा वन वातावरण मन्त्री विकाश लम्साल र पर्वतारोही महासंघका अध्यक्ष सन्तवीर लामाको उपस्थितीमा तस्वीरहरू संग्राहलयलाई हस्तान्तरण गरेका हुन्।
सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा हर्जोगले पहिलो पटक ८०९१ मिटर अग्लाे अन्नपूर्ण प्रथम आरोहण गरेर विश्वमै पहिलो आरोहीको किर्तिमानी राखेका थिए।
कार्यक्रममा राजदूत लेजेले हिमाल आरोहणमा नेपाली शेर्पाहरूको अतुलनीय योगदान रहेको स्मरण गरे। साथै उनले हर्जोगकी श्रीमती एलिजाबेथ हर्जोगको सन्देश पनि वाचन गरेर सुनाएका थिए।
सन्देशमा एलिजावेथले उक्त तस्वीरहरू संग्राहलयमा राख्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै त्यसले नेपाल र फ्रान्सेली आरोहीहरूप्रति सम्मान हुने धारणा उल्लेख गरेकी छन्।
साथै गण्डकी प्रदेशका पर्यटन मन्त्री लम्सालले हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेर पर्वतारोहण र विश्वभर यसलाई चिनाउनका लागि उनको पुस्तक अन्नपूर्ण मार्फत पुर्याएकाे याेगदान स्मरण गरेका थिए।
कार्यक्रममा फ्रान्सेली राजदूतसँग मन्त्री लम्सालले नेपालको पर्यटन क्षेत्र विकास र वातावरणीय असन्तुलनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।
सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा फ्रान्सेली टोलीले अन्नपूर्ण हिमालको प्रथम पटक सफल आरोहण गरेको थियो।
विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा मात्र छन्। जसमध्ये आठवटा नेपालमै छन् भने एउटा चीनमा र पाँचवटा पाकिस्तानमा। आरोही हर्जोगले अन्नपूर्ण आरोहण गर्न फ्रान्सदेखि भारतसम्म हवाईजहाज र भारतबाट पैदलयात्रा गर्दै मुस्ताङ पुगेका थिए।
अन्नपूर्ण वा धौलागिरीमध्ये कुन आरोहण गर्ने दोधारमा परेका हर्जोगलाई त्यतिबेला बेला नेपाली सहयोगीले अन्नपूर्ण आरोहण गर्न सुझाएको उनको पुस्तक ‘अन्नपूर्ण’ मा उल्लेख छ।
हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। अन्नपूर्ण पहिलो आरोहण गरेर पहिलो आरोहीको किर्तिमानी बनाएपछि हर्जोगको सम्मानमा फ्रान्समा तीन दिन राष्ट्रिय उत्सव मनाइएको थियो।