भारतमा 'दिल्ली चलो' मार्च शुरू भएको २४ घण्टापछि किसानले पाए राजधानी प्रवेशको अनुमति
भारतको केन्द्र सरकारले पारित गरेको कृषि कानूनको विरोधमा शुरू 'दिल्ली चलो' मार्चको प्रदर्शनका लागि किसानलाई दिल्ली प्रवेशको अनुमति मिलेको छ।
भारत सरकारले यसअघि किसानहरूको आन्दोलनलाई अवरोध पुर्याउन दिल्ली प्रवेशमा लगाइएको रोक शनिवार हटाएको हो। यससँगै भारतमा केन्द्र सरकारले पारित गरेको कृषि कानूनको विरोधमा अब किसानहरूले दिल्लीको बुराडीस्थित निरंकारी मैदानमा प्रदर्शन गर्न पाउने भएका छन्।
केन्द्र सरकारले पारित गरेको कृषि र किसानसम्बन्धी तीनवटा कानूनको विरोधमा विभिन्न किसान संगठनहरूले बिहीबार 'दिल्ली चलो मार्च' को आह्वान गरेका थिए। यस आह्वानपछि किसानहरूले भारतको लखलऊदेखि पश्चिमी उत्तर प्रदेशका विभिन्न जिल्लामा पनि प्रदर्शन गरेका छन्।
आन्दोलन शुरू भएको २४ घण्टापछि दिल्ली पुलिसले किसानलाई शुक्रबार राष्ट्रिय राजधानीमा प्रवेशको अनुमति दिएको बताएको छ। यसअघि दिल्ली पुलिसले सरकारसँग आन्दोलनकारी किसानलाई थुन्नका लागि विभिन्न तीनवटा ठूला मैदानहरूलाई हिरासत बनाउने अनुमति मागेको थियो।
यस्तै 'दिल्ली चलो' मार्चमा सहभागी हुन हिँडैका एक जना किसानको मृत्यु भएको छ। 'दिल्ली चलो' मार्चमा सहभागी हुन पञ्जाबबाट दिल्ली आइरहेका किसान धाना सिंहको हरियाणाको भिवानीमा सडक दुर्घटनामा परी मृत्यु भएको द वायरले जनाएको छ। यससँगै जारी आन्दोलन थप पेचिलो बन्दै गएको छ।
'दिल्ली चलो' आन्दोलनमा सहभागी हुन भारतका विभिन्न भूभागबाट किसानहरू दिल्लीमा जम्मा भइरहेका छन्। सोही क्रममा एक जनाको मृत्यु भएपछि किसानहरू थप आन्दोलित भएको जनाइएको छ। आन्दोलनरत किसान र तिनका संगठनहरूले शुक्रबारदेखि मृतक किसानको बलिदानीलाई खेर जान नदिने भन्दै आन्दोलन चर्काउने घोषणा गरेका छन्।