इलेक्टोरल कलेजले बाइडेनको औपचारिक जित घोषणा गरेपछि ट्रम्पले ह्वाइट हाउस छाड्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरूले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन्। यद्यपी यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए।
ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए। चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेर कानुनी चुनौतीहरू दिएका थिए। तर अदालतले ट्रम्पले लगाएका आरोपहरूमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरू खारेज गरिदिएका थिए ।
हाल राष्ट्रपति ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकार गर्ने मनस्थितिमा देखिएका छन्। बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताएका छन्। इलेक्टोरल कलेजको बैठक आउँदो १४ डिसेम्बर १४ मा बस्दैछ।
अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ। हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गरेको देखिएको छ। संविधान अनुसार कूल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्।
नयाँ राष्ट्रपतिले आगामी २० जनवरीमा २०२१ मा सपथ ग्रहण गर्नेछन्। त्यसयता जो बाइडेन राष्ट्रपति–निर्वाचितका रुपमा रहनेछन्।